स्वास्थ्य बीमामा स्थानीय तहबाटै डिजिटल सामूहिक दर्ता र नवीकरण गर्न सकिने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा आबद्ध गराउन र पुरानो बीमा नवीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ।
बोर्डले कात्तिक १७ गतेदेखि आफ्नो एचआईबी ई–पोर्टल मार्फत डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा सञ्चालनमा ल्याएको हो। पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच दिएर सेवा सुरु गरिएको बोर्डले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार प्रदेश सरकार तथा स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा दर्ता गर्न सक्नेछन्। यसका लागि स्थानीय तहले आफैँ वा दर्ता सहयोगीमार्फत सेवा सञ्चालन गर्न सक्नेछन्। यसै प्रणालीबाट बीमा नवीकरण, बीमाका लागि तिर्नुपर्ने योगदान रकम भुक्तानी र नागरिकको विवरणसमेत व्यवस्थापन गर्न सकिनेछ।
बोर्डका अनुसार यसअघि सामूहिक रूपमा बीमा आबद्ध गराउने तथा नवीकरण गर्ने प्रक्रियामा लाग्ने समय र झन्झट कम गर्ने उद्देश्यले नयाँ प्रणाली ल्याइएको हो। यो सेवा सञ्चालन गर्न इच्छुक प्रदेश सरकार तथा स्थानीय तहलाई सम्बन्धित प्रदेश र जिल्ला कार्यालयसँग समन्वय गर्न आग्रह गरेको छ।











