सरकारविरुद्ध पत्रकार महासंघको आन्दोलन घोषणा, मंसिर ९ गते देशभर प्रदर्शन गर्ने

१ मंसिर २०८३, मंगलवार १६:०२

काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको भन्दै महासंघले आन्दोलन घोषणा गरेको जनाएको छ।

त्यसैगरी, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको कारणका रूपमा उल्लेख गरेको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको महासंघको आरोप छ। महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार २०८३ मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ।

यस्तै, मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम छ। मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गरिनेछ भने मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्नेछन्।

महासंघले मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्ने कार्यक्रमसमेत तय गरेको छ। जिल्ला शाखाको आयोजनामा हुने उक्त प्रदर्शनमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित पत्रकारहरू भेला हुनेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*