नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएका रोजगार संयोजकविरुद्ध भ्रष्टाचार मुद्दा

१ मंसिर २०८३, मंगलवार १६:१८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्त भएको आरोपमा बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओमप्रकाश गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गिरी २०७८ जेठ १ गते फेटा गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को रोजगार संयोजक पदमा नियुक्त भएका थिए। उक्त पद प्राप्त गर्न उनले पेस गरेको तीन वर्षे बी.एड. तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा अर्कै व्यक्तिको नाममा रहेको पुष्टि भएको अख्तियारले जनाएको छ।

गिरीको प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक योग्यता नक्कली रहेको भन्दै उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनले आफ्नो वास्तविक शैक्षिक योग्यता लुकाई झुट्टा प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको ओहदा प्राप्त गरेको देखिएको अख्तियारको ठहर छ।

आयोगले गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार हदैसम्मको कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*