लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तले मंसिर २३ गते बोलायो साधारणसभा

२ मंसिर २०८३, बुधबार ०८:१२

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल ९.५० प्रतिशत लाभांश पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते बुधबार पोखरामा चौधौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा पोखराको लेकसाइडस्थित आईएमई हस्पिटालिटी प्रालिमा बिहान ९ बजे शुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर र ३.५० प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पेस गरिनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँको ६ प्रतिशतका दरले ३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै ३.५० प्रतिशतका दरले २ करोड २६ लाख ९० हजार ४२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । नगद लाभांशमा कर प्रयोजनको रकमसमेत समावेश छ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि रहेको छ । साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने तथा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक निर्वाचित गर्ने प्रस्तावमा छलफल हुनेछ।

त्यसैगरी बोनस शेयर वितरणपछि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । त्यसैले मंसिर १० गतेसम्म नेप्सेमा शेयर कारोबार भई नियमानुसार शेयर नामसारी भएका शेयरधनीले मात्र सभामा सहभागी हुन, मतदान गर्न र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*