युनाइटेड इदी मर्दी हाइड्रोपावरले ५.२६ प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारणसभा

२ मंसिर २०८३, बुधबार ०८:२१

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल ५.२६३२ प्रतिशत लाभांश पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर २५ गते शुक्रबार पोखरामा १७औं वार्षिक साधारण सभा गर्ने भएको हो ।

कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो । सभामा सञ्चालक समितिले घोषणा गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेस गरिनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतका दरले २ करोड ४१ लाख ९३ हजार २६० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतका दरले १२ लाख ७३ हजार ५३३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यसैगरी बोनस शेयर वितरणका कारण कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र बोनस शेयर जारी गर्न तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्न विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र कम्पनी रजिस्ट्रारको कार्यालयलगायतका निकायमा काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । त्यसैले मंसिर १५ गतेसम्म नेप्सेमा शेयर कारोबार भई प्रचलित कानुनअनुसार नामसारी भएका शेयरधनीले मात्र साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*