आशुतोष इनर्जीले मंसिर १४ देखि आईपीओ निष्कासन गर्ने, क–कस्ले कति कित्तासम्म भर्न पाउँछन्?

३ मंसिर २०८३, बिहीबार ०९:३७

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले आगामी मंसिर १४ गतेदेखि सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गर्नेछ। कुल १२ लाख कित्तामध्ये ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र बाँकी ६ लाख कित्ता सर्वसाधारण समूहका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको ६ लाख कित्तामध्ये ३ लाख कित्ता आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ। यसअन्तर्गत लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका वडा नं. १ र २ तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं. २ र ३ का स्थायी बासिन्दा समेटिएका छन्। बाँकी ३ लाख कित्ता लमजुङको दूधपोखरी र दोर्दी गाउँपालिका तथा गोरखाको अजिरकोट गाउँपालिकाका अन्य क्षेत्रका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।

त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको ६ लाख कित्तामध्ये ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ। यसमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उनीहरूका लागि शेयर निष्कासन मंसिर १४ गतेदेखि खुला हुनेछ। यसको छिटोमा मंसिर २८ गते र ढिलोमा पुस १४ गते बैंकिङ समयपछि निष्कासन बन्द हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि मंसिर १४ गतेदेखि नै आवेदन खुला हुनेछ। उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस समूहका लागि छिटोमा मंसिर १७ गते र ढिलोमा मंसिर २८ गते बैंकिङ समयपछि आवेदन दिने म्याद समाप्त हुनेछ।

आयोजना प्रभावितले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू, कम्पनीको लमजुङस्थित आयोजना कार्यालय, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, हिमालयन बैंकको गौडा शाखा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा र एनएमबी बैंकको बेसीशहर शाखा कार्यालयमा आवेदन फाराम प्राप्त गर्न सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्य प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूका साथै सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेन्। यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*