आइएमई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ मा जगदीश खड्का नियुक्त

२ मंसिर २०८३, बुधबार १७:३३

काठमाडौं । आइएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्टमा नियुक्त गरेको छ । समूहका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य अभिवृद्धि गर्दै व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता र समग्र समूहको दीर्घकालीन ब्रान्ड मूल्य बढाउने जिम्मेवारीसहित खड्कालाई उक्त पदमा नियुक्त गरिएको हो ।

नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले समूहअन्तर्गतका कम्पनीहरूको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई एकीकृत गर्दै व्यवसाय विस्तारमा नेतृत्व गर्नेछन् । साथै, नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभवमा सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तार गर्ने कार्यलाई प्राथमिकता दिनेछन् ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ । उनी यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीमा समेत रहिसकेका छन् । विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको नेतृत्व तथा व्यवस्थापनमा काम गरेको अनुभव उनीसँग छ ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले खड्कालाई समूहमा स्वागत गर्दै उनको नेतृत्वमा समूहका कम्पनीहरू थप सुदृढ हुनुका साथै डिजिटल रूपान्तरणले गति लिने विश्वास व्यक्त गरेका छन् । उनले खड्काको अनुभव र क्षमताले नयाँ व्यावसायिक अवसर सिर्जना गर्न सहयोग पुग्ने बताए ।

नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले समूहका प्राथमिकता र सरोकारवालासँगको सहकार्यमा परिणाममुखी काम गर्ने बताएका छन् ।

नेपालको अग्रणी व्यावसायिक समूहका रूपमा रहेको आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका विविध क्षेत्रमा लगानी र व्यवसाय विस्तार गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*