बंगलादेशमा फेरि भड्कियो हिंसा, ग्रामीण बैंकका ३७ शाखा कार्यालयमा आगजनी र तोडफोड

काठमाडौँ । बंगलादेशमा फेरी हिसां भड्किएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किने घोषणा गरेसँगै देशका विभिन्न स्थानमा हिंसात्मक घटना बढेका हुन्। प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछिका दिनमा राजधानी ढाकासहित विभिन्न जिल्लामा बम विस्फोट, आगजनी, तोडफोड र झडपका घटना भएका छन् ।
राजनीतिक प्रतिशोध र शक्ति संघर्षको चपेटामा परेको बंगलादेशमा पछिल्लो हिंसाले जनजीवन प्रभावित बनाउनुका साथै ठूलो भौतिक क्षति पुर्याएको छ । घटनामा मानवीय क्षतिसमेत भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पछिल्ला दुई दिनमा मात्रै बंगलादेशका विभिन्न क्षेत्रमा आगजनी र तोडफोडका घटना तीव्र बनेका छन् । सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका शाखाहरूमा आक्रमण गरिएको छ । त्यस्तै, चटगाउँस्थित युनुसको पैतृक घरमा समेत अज्ञात समूहले आगजनी गरेको छ । देशभर युनुसद्वारा स्थापित ग्रामीण बैंकका कम्तीमा ३७ वटा शाखा तथा कार्यालयमा आगजनी र तोडफोड भएको बताइएको छ ।
राजधानी ढाकामा पनि हिंसाको प्रभाव व्यापक देखिएको छ । अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको समाचार सार्वजनिक भएको छ । त्यस्तै, कैयौँ बस तथा अन्य सवारीसाधन तोडफोड र आगजनीको निशानामा परेका छन् । अवामी लिगका नेताहरूका घरदेखि बीएनपीका कार्यालयसम्म आक्रमणका घटना भएका छन् । बंगलादेशका ६४ जिल्लामध्ये कम्तीमा २८ जिल्लामा तोडफोड, आगजनी र बम विस्फोटका घटना भएको जनाइएको छ । सबैभन्दा बढी क्षति गोपालगञ्ज, ढाका र चट्टोग्राम क्षेत्रमा पुगेको छ ।
शेख हसिनाको जन्मस्थानसमेत रहेको गोपालगञ्जमा प्रदर्शनकारीहरूले टुङ्गीपारा प्रहरी चौकी, नजिकैको प्रहरी ब्यारेक र मुक्सुदपुर प्रहरी चौकीमा आक्रमण गरी आगजनी गरेका छन् । आक्रमणकारीहरूले बीएनपीका सांसद एसएम जिलानी (गोपालगञ्ज–३) र सलिमुज्जमान सलिम (गोपालगञ्ज–१) को घरमा तोडफोड तथा आगजनी गरेका छन् । त्यस्तै, सांसद डा. केएम बाबरको कार्यालयमा क्षति पुर्याइएको छ भने टुङ्गीपारास्थित बीएनपीका स्थानीय कार्यालय र पसलहरूमा समेत आगो लगाइएको छ ।
चट्टोग्राममा पनि हिंसात्मक गतिविधि रोकिएका छैनन् । पञ्चलाइस क्षेत्रमा रहेको पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको पुख्र्यौली घरमा आक्रमणकारीहरूले आगजनी गरेका छन् । खातुनगञ्ज क्षेत्रमा बीएनपीका एक नेताको व्यवसायमा समेत तोडफोड गरिएको छ । राजनीतिक नेतृत्व र उनीहरूसँग सम्बन्धित सम्पत्तिलाई लक्षित गरी भएका यस्ता आक्रमणले देशको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बन्दै गएको संकेत गरेका छन् ।
यसैगरी, सिराजगञ्ज र कुमिल्लामा अवामी लिगका जिल्ला कार्यालयहरूमा तोडफोड र आगजनी गरिएको छ । पूर्वसांसद हबिबे मिल्लत मुन्ना र एकेएम बहाउद्दिन बहारको निवाससमेत आक्रमणको निशानामा परेका छन् । राजमार्ग र सार्वजनिक यातायातमा पनि हिंसाको असर परेको छ । प्रदर्शनकारीहरूले ढाका–खुल्ना र ढाका–बरिसाल राजमार्गअन्तर्गत कासियानी तथा फरिदपुर क्षेत्रमा आगो बालेर सडक अवरुद्ध पारेका छन् । रंगपुर र गाजीपुरमा बसहरूमा आगजनी गरिएको छ ।
सरकारी संरचना र सार्वजनिक पूर्वाधारसमेत सुरक्षित रहन सकेका छैनन् । नजिरपुरमा एक युनियन परिषद्को खाद्य गोदाम तथा केही पसलहरू जलाइएको छ भने खुल्नास्थित जिल्ला न्यायाधीशको अदालत भवनमा बम प्रहार गरिएको छ । गाजीपुरमा एक पूर्वमन्त्रीको निवासमा समेत आगजनी भएको छ । राजनीतिक दलका कार्यालय, नेताका निवास, वित्तीय संस्था, सार्वजनिक यातायात र सरकारी संरचनामाथि एकपछि अर्को आक्रमण हुन थालेपछि बंगलादेशको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।
बढ्दो हिंसा नियन्त्रणमा लिन सरकारले देशका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । शेख हसिनाको जन्मस्थान गोपालगञ्जसहित विभिन्न जिल्लामा अर्धसैनिक बल बोर्डर गार्ड बंगलादेश (बीजीबी) का हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । सम्भावित थप हिंसा रोक्न सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । यसबीच प्रहरीले पछिल्लो २४ घण्टामा राजधानी ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हसिना नेतृत्वको मन्त्रिपरिषद्का पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेका छन् ।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी शेख हसिना त्यसयता भारतमा बस्दै आएकी छन् । यसै महिनाको सुरुवातमा उनले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गरेकी थिइन् ।











