नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रमुख अनुसन्धान अधिकृत बनेका चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

३ मंसिर २०८३, बिहीबार १६:२१

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी पद तथा सुविधा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगको अनुसन्धानबाट चौधरीले बढुवा तथा पदस्थापनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको खुलेको छ । उनले बिहार इन्टरमिडियट एजुकेसन काउन्सिलबाट जारी भएको भनिएका मार्कस स्टेटमेन्ट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट र कन्डक्ट सर्टिफिकेटलगायतका कागजात झुटा तथा नक्कली रूपमा पेस गरेको आयोगको ठहर छ ।

ती प्रमाणपत्रकै आधारमा चौधरीले राष्ट्रिय अनुसन्धान विभागमा उपसचिवसरहको प्रमुख अनुसन्धान अधिकृत पदसम्म बढुवा पाएका थिए । नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र प्रयोग गरी राष्ट्रसेवकको हैसियतमा पद, ओहोदा, लाभ तथा सुविधा प्राप्त गरेको पुष्टि भएपछि आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा अघि बढाएको हो । आरोपपत्रमा चौधरीलाई कैद र जरिबाना गर्न माग गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*