तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

४ मंसिर २०८३, शुक्रबार ०८:५४

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी आज (मंसिर ४ गते) शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यस अवसरमा तुलसीको विशेष पूजा आराधना गरी भगवान् विष्णुको स्वरूप दामोदरसँग तुलसीको विधिपूर्वक विवाह गरिँदै छ।

वैदिक सनातन परम्पराअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु कार्तिक शुक्ल एकादशीका दिन ब्युँझने धार्मिक विश्वास छ। भगवान् विष्णु योगनिद्राबाट जाग्ने दिन भएकाले यसलाई हरिबोधिनी वा प्रबोधिनी एकादशीसमेत भनिन्छ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चारमहिने अवधिलाई चतुर्मास भनिन्छ। यस अवधिमा भगवान् विष्णुको विशेष पूजा आराधना गर्ने परम्परा छ। चतुर्मासभर रोकिएका विवाह, व्रतबन्धलगायत माङ्गलिक कार्यसमेत हरिबोधिनी एकादशीपछि शुरु गर्न सकिने धार्मिक मान्यता रहेको छ।

आजको दिन घरघरमा रहेको तुलसीको मठलाई गोबर र रातो माटोले लिपपोत गरी फूलमाला तथा विभिन्न सामग्रीले सजाइन्छ। त्यसपछि भगवान् विष्णुको प्रतीकका रूपमा निगालो स्थापना गरी तुलसीसँग विवाह गराउने परम्परा छ। तुलसीलाई भगवान् विष्णुको प्रिय मानिने भएकाले तुलसी–दामोदर विवाहको विशेष धार्मिक महत्त्व रहेको विश्वास गरिन्छ।

यस दिन श्रद्धालुहरूले एकादशीको व्रत बस्ने, स्नान, दान, जप तथा भगवान् विष्णुको पूजा गर्ने गर्छन्। व्रतालुहरूले अन्न सेवन नगरी सखरखण्ड, पिँडालु तथा वनतरुलजस्ता फलाहार ग्रहण गर्ने चलन छ। धार्मिक मान्यताअनुसार यस दिन व्रत तथा पूजा आराधना गर्दा पुण्य प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास गरिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*