लक्ष्मी लघुवित्तको लाभांश घोषणा

४ मंसिर २०८३, शुक्रबार ०९:१४

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको २०४औँ बैठकले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीको २०८३ असार मसान्तसम्म कायम ४४ करोड १६ लाख ६२ हजार १०० रुपैयाँ चुक्ता पुँजीका आधारमा प्रस्तावित बोनस शेयरको रकम २ करोड ९ लाख ७८ हजार ९४९ रुपैयाँ ७५ पैसा हुनेछ। त्यस्तै नगद लाभांशतर्फ ११ लाख ४ हजार १५५ रुपैयाँ २५ पैसा वितरण गर्ने प्रस्ताव गरिएको छ।

यसअनुसार कम्पनीले कुल २ करोड २० लाख ८३ हजार १०५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले प्राप्त गर्नेछन्।

कम्पनीले सञ्चालक समितिबाट पारित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरणसमेत नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि वित्तीय विवरण साधारण सभाको प्रयोजनका लागि प्रकाशन गरिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*