लाभांश र मर्जर प्रस्ताव सहित फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारणसभा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २८ गते आफ्नो १७औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको २६०औँ बैठकले बिहान १० बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सभा गर्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै चुक्ता पुँजीको ११.०५२६ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। उक्त लाभांश रकम १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ रहेको छ जसमा लाभांशमा लाग्ने करसमेत समावेश छ।
त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। संस्थापक शेयरधनी समूह ‘क’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूचीसमेत रहेको छ।
सभाले कम्पनीलाई आवश्यकताअनुसार अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जान सक्ने गरी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसैले मंसिर १४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।











