धादिङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जनाको अवस्था गम्भीर

४ मंसिर २०८३, शुक्रबार ११:५०

काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्। दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो।

नेपाल प्रहरीका अनुसार आज राति करिब १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको प्रदेश ०२–०३३ च ७१६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो।

दुर्घटनामा सात जना स्थानीयसहित बोलेरो चालक डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ का २५ वर्षीय ललित बोम्जन घाइते भएका छन्। घाइतेमध्ये ११ वर्षीय आमोष तामाङ, ३३ वर्षीया मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेमा ३५ वर्षीया कान्छी माया तामाङ, ९ वर्षीय पिटर तामाङ, १४ वर्षीय कमल घले, २० वर्षीय बिमल तामाङ, ४० वर्षीय चेरोङ तामाङ र २५ वर्षीय ललित बोम्जन रहेका छन्। उनीहरूमध्ये अधिकांशको अवस्था मध्यम रहेको छ। घाइते सबैलाई उपचारका लागि बोराङ स्वास्थ्य चौकी पठाइएको छ। दुर्घटनाको कारण र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*