बीमाको पहुँच र प्रभावकारिता अझै किन चुनौतीपूर्ण ?

नेपालको बीमा क्षेत्र पछिल्ला वर्षहरूमा क्रमशः विस्तार हुँदै गएको देखिन्छ । बीमा कम्पनीहरूको व्यवसाय, कुल बीमाशुल्क संकलन, जनसंख्यामा बीमाको पहुँच तथा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा बीमाको योगदानजस्ता सूचकहरूले यस क्षेत्रले सकारात्मक गति लिइरहेको संकेत गर्छन् । बीमा क्षेत्रका प्रमुख सूचकांकलाई आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ सँग तुलना गर्दा समग्रमा सुधार देखिए पनि बीमाको वास्तविक पहुँच, गुणस्तरीय सेवा र वित्तीय सुरक्षाको प्रत्याभूतिका विषयमा अझै धेरै काम गर्नुपर्ने देखिन्छ ।
बीमा क्षेत्रको विकास मापन गर्ने महत्वपूर्ण आधार कुल बीमाशुल्क संकलन हो । बीमा कम्पनीहरूको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट उपलब्ध तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरूले कुल दुई खर्ब २७ अर्ब ५६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । आर्थिक वर्ष २०८२/०८३ मा यस्तो संकलन बढेर दुई खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कुल बीमाशुल्क संकलन १० दशमलव ९७ प्रतिशतले वृद्धि हुनु सकारात्मक उपलब्धि हो । यसले बीमाप्रतिको जनचासो, बीमा सेवाको विस्तार र बजारको आकारमा वृद्धि भइरहेको संकेत गर्छ ।
क्षेत्रगत रूपमा हेर्दा जीवन बीमाको व्यवसाय विस्तार तुलनात्मक रूपमा बढी देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा जीवन बीमातर्फ एक खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन भएकोमा आर्थिक वर्ष २०८२/०८३ मा बढेर दुई खर्ब चार अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यसमा १२ दशमलव १९ प्रतिशतको वृद्धि देखिन्छ । जीवन बीमाप्रति नागरिकको आकर्षण बढ्नु, दीर्घकालीन आर्थिक सुरक्षाको आवश्यकता महसुस हुनु र बीमा कम्पनीहरूले बजार विस्तारका लागि गरेका प्रयासले यस्तो वृद्धिमा योगदान पुर्याएको अनुमान गर्न सकिन्छ ।
त्यस्तै, निर्जीवन बीमा क्षेत्रमा पनि सुधार देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ४५ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क संकलन भएकोमा आर्थिक वर्ष २०८२/०८३ मा ४८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यो छ दशमलव शुन्य आठ प्रतिशतको वृद्धि हो । सवारीसाधन, सम्पत्ति, व्यवसाय तथा अन्य जोखिमको बीमा गर्ने प्रवृत्ति बढ्दै जानु यस क्षेत्रको व्यवसाय विस्तारको आधार हुन सक्छ । यद्यपि जीवन बीमाको तुलनामा निर्जीवन बीमाको वृद्धि कम देखिनुले यस क्षेत्रमा अझै बजार विस्तारको पर्याप्त सम्भावना रहेको देखाउँछ ।
बीमा क्षेत्रको वास्तविक विकास बुझ्न कुल बीमाशुल्क संकलन मात्रै पर्याप्त हुँदैन । कति नागरिक बीमाको दायरामा समेटिएका छन् भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस दृष्टिले जनसंख्यामा जीवन बीमाको पहुँचसम्बन्धी तथ्यांक उत्साहजनक देखिन्छ । वैदेशिक रोजगार सम्बन्धी बीमा नीति बाहेक जीवन बीमाको पहुँच आर्थिक वर्ष २०८१/०८२ मा ३९ दशमलव ९९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा बढेर ४४ दशमलव ११ प्रतिशत पुगेको छ । यसमा १० दशमलव तीन प्रतिशतको वृद्धि देखिएको छ ।
त्यस्तै, वैदेशिक रोजगार सम्बन्धी बीमा नीतिसमेत समावेश गर्दा जीवन बीमाको पहुँच ४८ दशमलव ३३ प्रतिशतबाट बढेर ५२ दशमलव शुन्य चार प्रतिशत पुगेको छ । यो सात दशमलव ६८ प्रतिशतको वृद्धि हो । आधाभन्दा बढी जनसंख्या जीवन बीमाको दायरामा पुगेको तथ्यांकले बीमा सेवाको पहुँच विस्तार हुँदै गएको देखाउँछ । तर यसको अर्थ सबै नागरिकले समान रूपमा पर्याप्त बीमा सुरक्षा प्राप्त गरेका छन् भन्ने होइन । बीमाको पहुँच र बीमाको पर्याप्तता फरक विषय हुन् । धेरै नागरिकले न्यून बीमांकको पोलिसी लिएका हुन सक्छन् । त्यसैले संख्यात्मक पहुँचसँगै बीमाले प्रदान गर्ने वास्तविक आर्थिक सुरक्षालाई पनि मूल्यांकन गर्न आवश्यक छ ।
अर्कोतर्फ, कुल गार्हस्थ्य उत्पादनको तुलनामा बीमाशुल्क संकलनको अनुपात अर्थात् बीमा प्रवेश दर (इन्स्योरेन्स पेनिट्रेसन) ले पनि क्षेत्रको अवस्थाबारे महत्वपूर्ण जानकारी दिन्छ । बीमा प्राधिकरणबाट उपलब्ध तथ्यांकअनुसार जीवन बीमाको प्रवेश दर आर्थिक वर्ष २०८१/०८२ मा दुई दशमलव ९४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा बढेर तीन दशमलव १० प्रतिशत पुगेको छ । यसमा पाँच दशमलव ४४ प्रतिशतको वृद्धि देखिएको छ । यसले अर्थतन्त्रको आकारको तुलनामा जीवन बीमाको योगदान बढिरहेको संकेत गर्छ ।
तर निर्जीवन बीमाको प्रवेश दर भने दुवै आर्थिक वर्षमा शुन्य दशमलव ७३ प्रतिशतमा स्थिर रहेको छ । यसले निर्जीवन बीमा व्यवसायको विस्तार भए पनि कुल अर्थतन्त्रको अनुपातमा यसको योगदान उल्लेखनीय रूपमा बढ्न नसकेको देखाउँछ । विशेषगरी कृषि, उद्योग, व्यापार, पूर्वाधार, पर्यटन तथा साना व्यवसायमा जोखिम व्यवस्थापनका लागि निर्जीवन बीमाको ठूलो सम्भावना छ । तर सम्भावनाअनुसार यसको पहुँच र उपयोग विस्तार हुन नसक्नु नीतिगत तथा व्यावहारिक चुनौती हो ।
यी तथ्यांकले नेपालको बीमा क्षेत्रमा सुधार भइरहेको स्पष्ट देखाउँछन् । तर बीमा क्षेत्रको विकासलाई केवल बीमाशुल्क संकलन र पोलिसी संख्याको वृद्धिबाट मात्र मूल्यांकन गर्नु उपयुक्त हुँदैन । बीमितले दाबी भुक्तानी कति सहज रूपमा पाएका छन्, बीमा कम्पनीप्रति नागरिकको विश्वास कस्तो छ, बीमा सेवा ग्रामीण तथा दुर्गम क्षेत्रमा कति पुगेको छ र बीमाले नागरिकको वास्तविक जोखिम न्यूनीकरणमा कति योगदान दिएको छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छन् ।
अब बीमा क्षेत्रको ध्यान व्यवसाय विस्तारसँगै गुणस्तरीय सेवा, पारदर्शिता, दाबी भुक्तानीमा सहजता र बीमा साक्षरता अभिवृद्धिमा केन्द्रित हुनुपर्छ । बीमा कम्पनीहरूले नाफा र व्यवसाय विस्तारलाई मात्र प्राथमिकता नदिई बीमितको हितलाई केन्द्रमा राख्नुपर्छ। नियामक निकायले पनि बीमा बजारलाई प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन प्रभावकारी अनुगमन तथा नियमन गर्न आवश्यक छ ।
विशेषगरी न्यून आय भएका नागरिक, किसान, साना उद्यमी तथा ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी सरल, सुलभ र आवश्यकताअनुसारका बीमा योजना ल्याउनुपर्छ । कृषि तथा पशुपन्छी बीमा, सम्पत्ति बीमा, स्वास्थ्यसँग सम्बन्धित जोखिम र साना व्यवसायको सुरक्षामा बीमाको पहुँच विस्तार गर्न सके यसले नागरिकको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान दिन सक्छ ।
समग्रमा, आर्थिक वर्ष २०८२/०८३ मा बीमाशुल्क संकलन, जीवन बीमाको पहुँच र जीवन बीमाको प्रवेश दरमा देखिएको वृद्धि सकारात्मक उपलब्धि हो । तर निर्जीवन बीमाको प्रवेश दर स्थिर रहनु र बीमाको वास्तविक पहुँच तथा प्रभावकारितामा सुधार गर्नुपर्ने आवश्यकताले आगामी दिनको कार्यदिशा पनि स्पष्ट पारेको छ । नेपालको बीमा क्षेत्र अब संख्यात्मक वृद्धिबाट गुणात्मक विकासतर्फ अघि बढ्नुपर्छ । बीमा व्यवसायको विस्तारसँगै नागरिकको विश्वास, जोखिम व्यवस्थापन र आर्थिक सुरक्षालाई केन्द्रमा राख्न सके मात्रै बीमा क्षेत्र देशको समग्र आर्थिक विकासको बलियो आधार बन्न सक्छ ।
साभारः आर्थिक दैनिक पत्रिका, अंक ५०६४











