यात्रुको माग घट्दा हिमालय एयरलाइन्स संकटमा: आम्दानी २२% ले खुम्चियो, नाफा साढे १ अर्ब घाटामा

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सेवा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको हिमालय एयरलाइन्स प्रालि पछिल्लो आर्थिक वर्षमा गम्भीर वित्तीय संकटको दबाबमा परेको छ । यात्रुको मागमा आएको कमी, हवाई इन्धनको महँगो मूल्य र सञ्चालन खर्चमा भएको वृद्धिले कम्पनीको आम्दानीमा ठूलो धक्का पुर्याएको हो।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ११ अर्ब ४३ करोड ३० लाख रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब १७ करोड ७० लाख रुपैयाँ अर्थात् २१.७४ प्रतिशत कम हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १४ अर्ब ६१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ३७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको कारोबार पछिल्लो वर्ष भने उल्लेख्य रूपमा खुम्चिएको छ ।
आम्दानीमा आएको यही गिरावटले कम्पनीको नाफा–नोक्सानीमा समेत ठूलो उलटफेर ल्याएको छ । आर्थिक वर्ष २०८१/८२ मा २० करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको हिमालय एयरलाइन्स आर्थिक वर्ष २०८२/८३ मा आइपुग्दा १ अर्ब ४२ करोड २० लाख रुपैयाँ खुद घाटामा पुगेको छ ।
कम्पनीका अनुसार हवाई इन्धनको मूल्यमा भएको उतारचढाव र बढ्दो सञ्चालन खर्चले नाफामा प्रत्यक्ष असर पारेको हो । विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्यमा आएको परिवर्तनले खर्चको भार थपेको छ । अर्कोतर्फ, केही अन्तर्राष्ट्रिय उडान मार्गमा देखिएका अवरोध र प्रमुख बजारमा यात्रुको माग कमजोर हुँदा कम्पनीको आम्दानीसमेत प्रभावित भएको छ । खर्च निरन्तर बढ्ने तर आम्दानी घट्ने अवस्थाले कम्पनीको व्यावसायिक सन्तुलन बिग्रिएको देखिन्छ ।
हिमालय एयरलाइन्सको आम्दानीको प्रमुख आधार यात्रुबाट प्राप्त हुने रकम हो । तर, अन्तर्राष्ट्रिय उडानमा देखिएका चुनौतीका कारण यात्रु सङ्ख्या र उडानबाट हुने आम्दानीमा दबाब परेको कम्पनीको भनाइ छ । यात्रु माग कमजोर हुँदा उपलब्ध सिटको पूर्ण उपयोग गर्न कठिन हुने र त्यसले प्रत्यक्ष रूपमा आम्दानी घटाउने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा सञ्चालन खर्च धान्नसमेत कम्पनीलाई चुनौती थपिएको देखिन्छ ।
कम्पनीका लागि अमेरिकी डलरको विनिमय दर पनि अर्को वित्तीय जोखिम बनेको छ । जहाज भाडासहित अधिकांश वित्तीय दायित्व अमेरिकी डलरमा रहे पनि आम्दानीको केही हिस्सा नेपाली रुपैयाँमा हुने भएकाले डलरको मूल्य बढ्दा दायित्वको भार थपिने गरेको छ । यसले कम्पनीको लागत संरचनालाई थप महँगो बनाएको छ । त्यसैमाथि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ३ अर्ब रुपैयाँ ऋणको दायित्वसमेत कम्पनीमाथि छ । आम्दानी खुम्चिएको अवस्थामा ऋण र अन्य वित्तीय दायित्व व्यवस्थापन गर्नु कम्पनीका लागि थप चुनौतीपूर्ण देखिन्छ ।
हिमालय एयरलाइन्स नेपालको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो । सन् १९९७ नोभेम्बर १० मा यती एयरलाइन्स इन्टरनेसनल प्रालिका रूपमा स्थापना भएको कम्पनी सन् २०१४ जुलाई ३ मा नाम र स्वामित्व संरचना परिवर्तन भएपछि हिमालय एयरलाइन्सका रूपमा सञ्चालनमा आएको हो । कम्पनीको स्वामित्व तथा व्यवस्थापन संरचनामा परिवर्तन भएसँगै चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड पनि सेयरधनीका रूपमा आबद्ध भएको थियो ।
हाल कम्पनीसँग चारवटा मात्रै विमान छन् । तीमध्ये तीनवटा एयरबस ए३२०–२१४ र एउटा एयरबस ए३१९–११५ रहेका छन् । तीनवटा ए३२० मा १८० सिट र एउटा ए३१९ मा १४४ सिट क्षमता छ । कम्पनीका सबै विमानमा इकोनोमी श्रेणीका सिट मात्रै उपलब्ध छन् । काठमाडौंलाई मुख्य उडान केन्द्र बनाएर मध्यपूर्व, दक्षिण एसिया र चीनका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय यात्रुवाहक उडान सञ्चालन गर्दै आएको कम्पनीको उडान सञ्जाल पनि सीमित विमानमै निर्भर छ ।
चारवटा विमानमा सीमित कम्पनीको सञ्चालन संरचना आफैँमा जोखिमपूर्ण देखिन्छ । कुनै एउटा विमान प्राविधिक समस्या, मर्मतसम्भार वा अन्य कारणले लामो समय उडानबाट बाहिर रहँदा समग्र उडान तालिका प्रभावित हुन सक्छ । त्यसले उडान सङ्ख्या घटाउने मात्रै होइन, यात्रु व्यवस्थापन, सेवा निरन्तरता र आम्दानीमा समेत नकारात्मक असर पार्न सक्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने कम्पनीका लागि सीमित जहाज सङ्ख्या र त्यसमा निर्भर सञ्चालन प्रणाली थप चुनौतीपूर्ण बनेको छ ।
कम्पनीको सञ्चालक समितिमा हवाई सेवा क्षेत्रमा लामो अनुभव भएका तीनजना सञ्चालक छन् । अध्यक्षमा झोउ एनयोङ रहेका छन् भने विजयबहादुर श्रेष्ठ र क्याप्टेन हाओ डी उपाध्यक्षका रूपमा कार्यरत छन् । श्रेष्ठसँग नेपालको हवाई सेवा तथा पर्यटन क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव छ । उनले यसअघि यती एयरलाइन्स, तारा एयर र यती एयरलाइन्स इन्टरनेसनलमा समूह कार्यकारी निर्देशक, कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतलगायतका जिम्मेवारी सम्हालिसकेका छन् ।











