टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम काठमाडौंमा सञ्चालन, बाढीप्रभावित २५ मोटरसाइकल सहयोग

काठमाडौं । टीभीएस भेन्चरको एक हिस्सा रहेको टीभीएस मोटर कम्पनी (टीभीएसएम) ले काठमाडौंमा नेपालको पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएको छ। विश्वको तेस्रो ठूलो दुईपाङ्ग्रे सवारीसाधन निर्माता तथा दुई र तीनपाङ्ग्रे सवारीसाधन क्षेत्रको विश्वव्यापी अग्रणी कम्पनी टीभीएसएमले आज एक विशेष समारोहबीच शोरुम उद्घाटन गरेको हो। टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गर्नुभयो। नयाँ शोरुम सञ्चालनमा आएसँगै नेपाली बजारमा कम्पनीको उपस्थिति र प्रिमियम तथा विद्युतीय सवारीसाधनको बिक्री सञ्जाल थप विस्तार हुने अपेक्षा गरिएको छ।
शोरुम उद्घाटनका अवसरमा भव्य बाइक र्यालीसमेत आयोजना गरिएको थियो। उत्साहपूर्ण सहभागिताबीच सम्पन्न र्यालीले उद्घाटन समारोहलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा टीभीएस मोटर कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाढीप्रभावित समुदायलाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ। सुगन्धा सिंह र अश्विनले सम्बन्धित संस्थाका प्रतिनिधिलाई मोटरसाइकलका साँचो हस्तान्तरण गर्नुभएको थियो।
मोटरसाइकल सहयोगबाट नुवाकोट जिल्ला प्रहरी कार्यालय, नुवाकोट केन्द्रीय कारागार, विदुर नगरपालिका, विदुर जिल्ला अस्पताल, विदुर सरकारी विद्यालय, रसुवा जिल्ला प्रहरी कार्यालय, आमाछोदिङ्मो गाउँपालिका, आमाछोदिङ्मो सरकारी विद्यालय, आमाछोदिङ्मो सरकारी अस्पताल, उत्तरगया गाउँपालिका, उत्तरगया सरकारी विद्यालय र उत्तरगया सरकारी अस्पताल लाभान्वित भएका छन्। कार्यक्रममा जगदम्बा मोटर्स तथा लाभान्वित संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। कम्पनीका अनुसार यस पहलले बाढीप्रभावित क्षेत्रका समुदायलाई सेवा प्रवाह गर्न, पहुँच विस्तार गर्न तथा पुनःस्थापनाका प्रयासलाई सहयोग पुर्याउनेछ।
समारोहमा कलाकार सौगात तामाङले विशेष रूपमा कस्टमाइज गरेको हेल्मेटसमेत प्रस्तुत गरिएको थियो। नेपाली कला र सिर्जनशीलतालाई टीभीएसको प्रिमियम ब्रान्ड पहिचानसँग जोड्ने उद्देश्यले तयार गरिएको हेल्मेटमा कलाकार तामाङको मौलिक कलात्मक सोच र शैली झल्किएको छ।
यस अवसरमा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपाल कम्पनीका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय बजार रहेको बताए । उनले नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउने र ग्राहकसँगको सम्बन्ध थप गहिरो बनाउने उद्देश्यसहित कम्पनीले निरन्तर लगानी गरिरहेको उल्लेख गरे। नेपालमा पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन हुनु कम्पनीको विस्तार यात्रामा महत्वपूर्ण उपलब्धि भएको उनको भनाई थियो ।
कार्गरले टीभीएसएमले सवारीसाधन बिक्रीलाई मात्र आफ्नो जिम्मेवारी नमान्ने उल्लेख गर्दै आफूले सेवा गर्ने समुदायमा सकारात्मक प्रभाव पार्नुलाई पनि प्राथमिकतामा राखेको बताए । बाढीप्रभावित समुदायसँग सम्बन्धित संस्थाहरूलाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्दा उनीहरूको सेवा प्रवाह र धेरै मानिससम्म पुग्ने क्षमतामा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
९० भन्दा बढी देशमा उपस्थिति रहेको टीभीएसएमले आफ्नो विश्वव्यापी अनुभव, उत्पादन विशेषज्ञता र विविध सवारीसाधन पोर्टफोलियोमार्फत अन्तर्राष्ट्रिय बजारमा सेवा प्रदान गर्दै आएको छ। नेपालमा कम्पनीको बजार विस्तार र ब्रान्ड उपस्थिति सुदृढ बनाउन जगदम्बा मोटर्ससँगको सहकार्यले महत्वपूर्ण भूमिका खेलेको छ। विगत १५ वर्षदेखि जारी साझेदारी गुणस्तरीय आवागमनका समाधान उपलब्ध गराउने र ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने उद्देश्यमा केन्द्रित रहँदै आएको छ।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएसएमसँगको १५ वर्ष लामो सहकार्य नेपाली बजारमा कम्पनीको विकास यात्राको महत्वपूर्ण हिस्सा बनेको बताए । बिक्रीपछिको सेवा, ग्राहकसँगको निरन्तर सम्पर्क तथा स्थानीय समुदायसँगको पहुँचसम्बन्धी कार्यक्रमले ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्न सहयोग पुगेको उनको भनाइ थियो।
अग्रवालले टीभीएससँगको साझेदारी व्यावसायिक वृद्धिमा मात्र सीमित नरहेको उल्लेख गर्दै स्थानीय समुदायसँगको सम्बन्ध र सामाजिक योगदानलाई पनि उत्तिकै महत्व दिइएको बताए । मोटरसाइकल हस्तान्तरणमार्फत समुदायको आधारभूत तहमा सेवा पुर्याइरहेका संस्थाहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । नेपालको पहिलो टीभीएस प्रिमियम तथा ईभी शोरुम सञ्चालनले साझेदारीमा अर्को महत्वपूर्ण उपलब्धि थपेको र यसले देशभर ब्रान्डको उपस्थिति तथा ग्राहक अनुभवलाई थप सुदृढ बनाउने विश्वाससमेत उनले व्यक्त गरे।
नवनिर्मित शोरुममा टीभीएसका प्रिमियम मोडल तथा विद्युतीय सवारीसाधन एउटै छानामुनि उपलब्ध हुनेछन्। शोरुममा प्रिमियम बाइकका लागि अधिकृत गियर, एक्सेसरीज तथा कस्टमाइज गरिएका हेल्मेटसमेत राखिएको कम्पनीले जनाएको छ। यसले ग्राहकलाई विभिन्न मोडल तथा सामग्री छनोट गर्न सहज बनाउनुका साथै टीभीएसको उन्नत ब्रान्ड अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
शोरुममा टीभीएस अपाचे आरटीआर २०० ४भी यूएसडी प्रोजेक्टर, अपाचे आरटीआर १६० ४भी यूएसडी प्रोजेक्टर, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, टीभीएस आईक्यूब र टीभीएस अर्बिटर उपलब्ध हुनेछन्। प्रिमियम तथा विद्युतीय सवारीसाधनलाई एउटै स्थानबाट उपलब्ध गराउने व्यवस्थाले नेपाली ग्राहकलाई थप विविध उत्पादन छनोट गर्ने अवसर प्रदान गर्नेछ।
बजार विकास, ग्राहक सम्बन्ध र सामुदायिक पहलमा निरन्तर लगानी गर्दै नेपालमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने लक्ष्य टीभीएसएमले राखेको छ। बिक्री सञ्जाल विस्तारसँगै समुदायकेन्द्रित कार्यक्रमलाई समेत प्राथमिकता दिँदै ग्राहक, व्यावसायिक साझेदार र आफूले सेवा गर्ने समुदायका लागि थप मूल्य सिर्जना गर्ने कम्पनीको प्रतिबद्धता छ।











