वैदेशिक रोजगार ठगीका फरार अभियुक्तको बैंक खाता रोक्का गरिने

काठमाडौँ । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ठगीमा संलग्न भई कानुनी प्रक्रियाबाट भागिरहेका व्यक्तिहरूको आर्थिक कारोबार नियन्त्रण गर्न बैंक खाता रोक्का गर्ने तयारी गरिएको जानकारी दिएका हुन्। यसका लागि आगामी मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्राचार गरिने मन्त्री यादवले बताएका छन्।
वैदेशिक रोजगार विभागले गत कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्दै ठगीसम्बन्धी मुद्दामा फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो। तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने विभागले जनाएको थियो। सोहीअनुसार म्यादभित्र उपस्थित नभएका व्यक्तिहरूको विवरण संकलन गरी राष्ट्र बैंकमा पठाउने तयारी गरिएको हो।
विभागले सम्बन्धित शाखालाई फरार व्यक्तिहरूको सूची तयार पारेर नेपाल राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ। ३५ दिनको अवधि पूरा भएपछि खाता रोक्का गर्ने प्रक्रिया सुरु गरिने मन्त्री यादवले स्पष्ट पारेका छन्।











