जीवन बीमकको जोखिमधारण क्षमता घट्यो, कुन कम्पनीको सोल्भेन्सी अनुपात कति?

६ मंसिर २०८३, आईतवार १३:१८

काठमाडौं । जीवन बीमा कम्पनीहरूको वित्तीय जोखिम वहन गर्ने क्षमता मापन गर्ने सोल्भेन्सी मार्जिन अनुपातमा गिरावट देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरूको औसत सोल्भेन्सी अनुपात घटेको हो।

सम्बन्धित कम्पनीहरूले सार्वजनिक गरेको चालु आवको प्रथमक त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्म २.२६ गुणा रहेको जीवन बीमा कम्पनीहरूको औसत सोल्भेन्सी अनुपात चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर १.८४ गुणामा झरेको छ। यस अवधिमा औसत अनुपात ०.४१ अंकले घटेको देखिन्छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म सबैभन्दा बढी सोल्भेन्सी अनुपात आईएमई लाइफ इन्स्योरेन्सको २.५९ गुणा रहेको छ। गत वर्षको सोही अवधिमा २.२२ गुणा रहेको कम्पनीको अनुपात ०.३७ अंकले सुधार भएको हो। दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफको अनुपात २.५४ गुणा छ। यद्यपि गत वर्ष ३.६१ गुणा रहेको यसको अनुपात १.०७ अंकले घटेको छ।

त्यस्तै सन नेपाल लाइफको अनुपात २.४३ गुणा र मेट लाइफको २.०८ गुणा रहेको छ। दुवै कम्पनीको अनुपात गत वर्षको असोज मसान्तकै स्तरमा कायम छ। प्रभु महालक्ष्मी लाइफको अनुपात १.९६ गुणाबाट घटेर १.९१ गुणा पुगेको छ भने सिटिजन लाइफको ३.४२ गुणाबाट घटेर १.७३ गुणामा सीमित भएको छ। सिटिजन लाइफको अनुपातमा १.६९ अंकको गिरावट आएको छ।

यता नेशनल लाइफको सोल्भेन्सी अनुपातमा सुधार देखिएको छ। गत वर्ष १.३४ गुणा रहेको कम्पनीको अनुपात चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर १.६६ गुणा पुगेको छ। सूर्यज्योति लाइफको अनुपात भने २.४७ गुणाबाट घटेर १.६५ गुणा कायम भएको छ। एलआईसी नेपालको अनुपात १.६१ गुणा रहेको छ जुन गत वर्षको सोही अवधिकै बराबर हो। सानिमा रिलायन्स लाइफको अनुपात १.४६ गुणाबाट बढेर १.५७ गुणा पुगेको छ भने नेपाल लाइफको १.५० गुणाबाट सामान्य सुधार हुँदै १.५४ गुणा पुगेको छ।

एशियन लाइफको सोल्भेन्सी अनुपात १.३६ गुणाबाट घटेर १.३३ गुणा कायम भएको छ। सबैभन्दा ठूलो गिरावट हिमालयन लाइफमा देखिएको छ। गत वर्षको असोज मसान्तसम्म ३.८६ गुणा रहेको कम्पनीको अनुपात चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर १.३२ गुणामा झरेको छ। यसरी कम्पनीको अनुपात २.५४ अंकले घटेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले भने यस्तो अनुपात सार्वजनिक गरेको छैन।

नियामकीय निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिन अनुपात कम्तीमा १.३० गुणा हुनु पर्ने प्रावधान तोकेको छ। यसअनुसार सबै कम्पनीहरूको सोल्भेन्सी अनुपात प्राधिकरणले तोकेको न्यूनतम मापदण्डभन्दा माथि नै रहको देखिन्छ।

सोल्भेन्सी मार्जिन अनुपातले बीमा कम्पनीसँग भविष्यमा आउन सक्ने बीमा दायित्व तथा अन्य वित्तीय जोखिम सामना गर्न आवश्यक पुँजीको तुलनामा कति अतिरिक्त पुँजीगत क्षमता छ भन्ने देखाउँछ। कम्पनीले सम्भावित आर्थिक जोखिम र दाबीको दायित्व धान्न सक्ने क्षमताको संकेत गर्ने सूचक नै सोल्भेन्सी मार्जिन अनुपात हो। यस्तो अनुपात जति धेरै भयो सामान्यतया कम्पनीको जोमिमधारण क्षमता त्यति नै बढी हुने गर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*