शाह भारत भ्रमणमा जाँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्तलाई

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ। राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारको नेतृत्व गर्ने जिम्मेवारी श्रेष्ठलाई दिने निर्णयसहितको पत्र पठाइएको हो ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो भारत भ्रमणमा प्रस्थान गर्दैछन्। उनीसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले पनि भ्रमणमा सहभागी हुने भएपछि मन्त्रिपरिषद्को तेस्रो वरीयतामा रहेका मन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय तथा एक्लाएक्लै भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।











