बिग्रिए बैंक ! कर्जाको ठूलो हिस्सा उपभोग र व्यापारमा

७ मंसिर २०८३, सोमबार १०:४८

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ठूलो हिस्सा उत्पादनमूलक क्षेत्रभन्दा उपभोग र व्यापारमा केन्द्रित भएको पाइएको छ। नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ३९.९३ प्रतिशत उपभोग्य कर्जा तथा थोक र खुद्रा व्यापार क्षेत्रमा गएको हो।

उत्पादन, रोजगारी सिर्जना र दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्‍याउने क्षेत्रमा तुलनात्मक रूपमा कम कर्जा प्रवाह भएको प्रतिवेदनले देखाएको हो। प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल ५९ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यसमध्ये सबैभन्दा बढी २२.८० प्रतिशत उपभोग्य कर्जामा लगानी भएको छ। त्यस्तै दोस्रो ठूलो हिस्सा थोक तथा खुद्रा व्यापार क्षेत्रमा गएको छ। यस क्षेत्रमा कुल कर्जाको १७.१३ प्रतिशत प्रवाह भएको छ। यसरी उपभोग र व्यापारमा मात्रै कुल कर्जाको झन्डै ४० प्रतिशत हिस्सा केन्द्रित भएको देखिन्छ।

त्यसपछि गैरखाद्य वस्तु उत्पादन क्षेत्रमा १०.३० प्रतिशत, जलविद्युत्, ग्यास तथा पानी क्षेत्रमा ८.६३ प्रतिशत कर्जा लगानी भएको छ भने वित्त, बीमा तथा अचल सम्पत्तिमा कुल कर्जाको ७.७७ प्रतिशत लगानी भएको प्रतिवेदनले देखाएको छ। यता कृषि, वन तथा पेयपदार्थ उत्पाद क्षेत्रमा ६.०८ प्रतिशत कर्जा प्रवाह भएको छ भने मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने कृषि तथा वन क्षेत्रमा कुल कर्जाको ५.८७ प्रतिशत मात्रै प्रवाह भएको छ। त्यस्तै पर्यटन सेवा क्षेत्रमा कुल कर्जाको ४.७२ प्रतिशत मात्रै गएको छ भने निर्माण क्षेत्रमा ४.६१ प्रतिशत कर्जा पुगेको छ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार यातायात तथा सञ्चार क्षेत्रमा १.८४ प्रतिशत, धातु उत्पादन, मेशिनरी तथा विद्युतीय उपकरण क्षेत्रमा जम्मा १.२५ प्रतिशत, माछापालन क्षेत्रमा ०.२७ प्रतिशत, खानी सम्बन्धी क्षेत्रमा ०.२० प्रतिशत मात्रै कर्जा गएको छ। राष्ट्र बैंकको प्रतिवेदनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि वित्तीय स्थायित्वका चुनौतीहरू कायम रहेको औँल्याएको छ। निक्षेप तथा कर्जाको औसत ब्याजदर घट्दो क्रममा रहे पनि कर्जाको संरचना र असुलीमा देखिएका समस्याले बैंकिङ क्षेत्रको जोखिम बढाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*