वैदेशिक लगानी प्रतिबद्धता घट्यो, चार महिनामा १९ अर्ब ५५ करोडको प्रस्ताव

७ मंसिर २०८३, सोमबार १०:०७

काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालमा १९ अर्ब ५५ करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि कात्तिकसम्म ४९७ वटा परियोजनामार्फत उक्त लगानी प्रस्ताव आएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा ३८६ वटा परियोजनामार्फत ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो।  गत वर्षको तुलनामा चालू आवको चार महिनामा परियोजनाको संख्या बढे पनि लगानी प्रतिबद्धता भने उल्लेख्य रूपमा घटेको छ।

कात्तिक महिनामा मात्रै ८५ वटा परियोजनामार्फत तीन अर्ब ४२ करोड ४३ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ। गत आवको कात्तिकमा ७१ वटा परियोजनामार्फत एक अर्ब ५४ करोड ३९ लाख रुपैयाँ लगानी प्रस्ताव आएको थियो। चालू आवको चार महिनामा आएका प्रस्तावमध्ये ४९१ वटा साना, दुईवटा मझौला र चारवटा ठूला परियोजना छन्। यी परियोजना सञ्चालनमा आए ६ हजार २०१ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

क्षेत्रगत रूपमा हेर्दा पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ। चार महिनामा पर्यटनका १४६ परियोजनामार्फत आठ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ।

यस्तै, ऊर्जा क्षेत्रका तीन परियोजनामा चार अर्ब पाँच करोड, सेवा क्षेत्रका ४४ परियोजनामा तीन अर्ब ९५ करोड २९ लाख, उत्पादनमूलक क्षेत्रका २९ परियोजनामा एक अर्ब ७५ करोड २५ लाख र सूचना प्रविधिका २७२ परियोजनामा ९७ करोड ९६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। कृषि क्षेत्रका तीन परियोजनामार्फत भने १५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ।

वैदेशिक लगानी प्रतिबद्धता आएको तथ्यांकसँगै लगानीकर्ताले आर्जित नाफा तथा लाभांश विदेश लैजाने क्रम पनि देखिएको छ। चालू आवको पहिलो चार महिनामा नेपालबाट तीन अर्ब ८४ करोड ६७ लाख ८१ हजार रुपैयाँ बराबरको लाभांश बाहिरिएको छ। त्यसमध्ये कात्तिक महिनामा मात्रै तीन अर्ब ६५ करोड तीन लाख रुपैयाँ लाभांशका रूपमा विदेशिएको हो। गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ९० करोड ७७ लाख रुपैयाँ लाभांश बाहिरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*