सेटिङमा मुक्तिनाथलाई वाणिज्य बैंकको लाइसेन्स दिने तयारी, बालेन सरकार पनि लाइसेन्सको चलखेलमा

काठमाडौं । सरकारले हुँदै नभएको कानूनको अपव्याख्या गरी मुक्तिनाथ विकास बैंकलाई वाणिज्य बैंकको लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ । विगतमा विष्णु पौडेलको सेटिङमा अघि बढाइएको मुक्तिनाथ विकास बैंक अहिले बालेन सरकार हुँदा पनि सेटिङमै ‘क’ वर्गको बैंक बन्ने अन्तिम तयारी भइरहेको छ । भ्रष्टाचारको विरोध गर्दै बनेको सरकार मातहत पनि सेटिङ हुन थालेपछि प्रश्न उठेको छ ।
२०८२ मंसिर २२ गते नेपाल राष्ट्र बैंकका ‘क’ वर्गको विकास बैंकको लाइसेन्स माग गर्दै मुक्तिनाथ विकास बैंकले निवेदन दर्ता गरेको थियो । वाणिज्य बैंक हुनको लागि आठ अर्बको चुक्ता पूँजी पूरा गरेकोले आफैंलाई ‘क’ वर्गको वाणिज्य बैंकको लाइसेन्स पाउनुपर्ने मुक्तिनाथ विकास बैंकको दावी थियो तर हाल वाणिज्य बैैंकको लाइसेन्स बन्द छ । लाइसेन्स बन्द भएको अवस्थामा स्तरोन्ततिमार्फत सेटिङमा नयाँ लाइसेन्स लिन लागेको चर्चा राष्ट्र बैंकमा चलिरहेको छ ।
स्रोतका अनुसार गभर्नर विश्वनाथ पौडेलले मुक्तिनाथ विकास बैंकलाई ‘क’ वर्गको वाणिज्य बैंकको लाइसेन्स दिने प्रक्रिया अघि बढाइसकेका छन् । मुक्तिनाथ विकास बैंक कांग्रेस नेता भरत ढकालको मुख्य लगानीमा ंस्थापित बैंक हो । आफू कांग्रेसको नेता बन्न गएपछि ढकालले अन्य व्यक्तिहरुलाई अध्यक्ष बनाएर बैंक चलाइरहेका छन् । सेटिङमा निकै सिपालु भरत ढकालले यसअघि सुर्य प्रसाद सिलवालसँग मिलेर दुई वटा लघु बीमा कम्पनीको लाइसेन्स हात पार्न सेटिङ हानेका थिए । त्यतिबेला उनको कम्पनी लाइसेन्स पाउन असफल भएको थियो ।
घुस खाँदै नखाने प्रतिबद्धता गरेका प्रधानमन्त्री बालेन्द्र शाहले यसअघिका महाभ्रष्ट विष्णु पौडेलले नियुक्त गरेका गर्भनरलाई अहिलेसम्म हटाउन सकेका छैनन् । यसअघिको सरकारले गरेका सयौं नियुक्तिहरू बदर भएपनि विष्णु पौडेलले शैक्षिक योग्यता नै नपुगेका पौडेललाई गभर्नर बनाएको काण्ड अहिलेसम्म न छानविन नै गरे न नेपाल राष्ट्र बैंकबाट विश्वनाथ पौडेलले राजीनामा नै दिनु परेको छ ।
हुँदा हुँदा अहिले उल्टै बालेन सरकारकै बद्नाम हुने गरी बैंकको लाइसेन्स समेत वितरण गर्न थालेपछि बैंकिङ क्षेत्रमा आश्चर्य व्यक्त गर्न थालिएको छ । मुक्तिनाथ विकास बैंकलाई ‘क’ वर्गको लाइसेन्स दिन लागेको सम्बन्धमा जिज्ञाशा राख्दा गभर्नर पौडेलले कुनै प्रतिक्रिया जनाएनन् ।











