कर्जा प्रवाहमा आक्रामक वाणिज्य बैंकः चार महिनामा दिए १ खर्ब ४८ अर्ब ऋण, प्रभु र एनआईसीको घट्यो

६ मंसिर २०८३, आईतवार ११:५२

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १ खर्ब ४८ अर्ब ७१ करोड रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत असार मसान्तसम्म ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेको २० वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह कात्तिक मसान्तसम्म आइपुग्दा बढेर ५४ खर्ब ३८ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा अधिकांश बैंकको कर्जा विस्तार भएको देखिएको छ । तथ्यांकअनुसार २० वाणिज्य बैंकमध्ये १८ वटाको कर्जा प्रवाह बढ्दा दुई बैंकको भने घटेको छ ।

कर्जा प्रवाहको आकारका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ । गत असार मसान्तमा ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चार महिनामा ३० अर्ब ७१ करोड रुपैयाँ थप गर्दै कात्तिक मसान्तसम्म कुल कर्जा ५ खर्ब ७ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याएको छ ।

दोस्रो स्थानमा रहेको नबिल बैंकले पनि आफ्नो कर्जा विस्तार गर्दै ५ खर्बको आँकडा पार गरेको छ । असार मसान्तमा ४ खर्ब ८७ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको नबिलले कात्तिकसम्म १७ अर्ब ५९ करोड रुपैयाँ थप गरी कुल कर्जा ५ खर्ब ५ अर्ब ५७ करोड रुपैयाँ पुर्‍याएको छ ।

कर्जा प्रवाहको आकारका आधारमा तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । बैंकको कर्जा असार मसान्तको ३ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँबाट सामान्य वृद्धि हुँदै कात्तिक मसान्तमा ३ खर्ब ६० अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको कर्जा प्रवाह ६ करोड रुपैयाँले बढेको हो ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको कर्जा १ करोड रुपैयाँले बढेर ३ खर्ब ४६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । लक्ष्मी सनराइज बैंकले १५ अर्ब ६८ करोड रुपैयाँ कर्जा थप गर्दै ३ खर्ब २० अर्ब ४६ करोडबाट ३ खर्ब ३६ अर्ब १४ करोड रुपैयाँ पुर्‍याएको छ ।

कुमारी बैंकको कर्जा प्रवाह पनि उल्लेख्य रूपमा बढेको छ । बैंकले चार महिनामा १८ अर्ब ७५ करोड रुपैयाँ कर्जा विस्तार गर्दै कुल कर्जा ३ खर्ब २१ अर्ब १४ करोड रुपैयाँ पुर्‍याएको छ । एनएमबी बैंकको कर्जा ६ अर्ब ५९ करोड रुपैयाँले बढेर २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने नेपाल बैंकको कर्जा ५ अर्ब ९२ करोड रुपैयाँले वृद्धि भई २ खर्ब ६७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । हिमालयन बैंकले ७ अर्ब ४ करोड रुपैयाँ थप गर्दै २ खर्ब ६३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै, सिद्धार्थ बैंकको कर्जा १२ अर्ब १४ करोड रुपैयाँले बढेर २ खर्ब ६० अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

एभरेस्ट बैंकले पनि चार महिनामा ११ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । असार मसान्तमा २ खर्ब ४७ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको कर्जा कात्तिक मसान्तमा २ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । प्राइम बैंकको कर्जा ६ अर्ब ५० करोड रुपैयाँले बढेर २ खर्ब ५१ अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने कृषि विकास बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ थप गर्दै कर्जा प्रवाह २ खर्ब ४९ अर्ब २३ करोड रुपैयाँ पुर्‍याएको छ ।

त्यस्तै, सानिमा बैंकको कर्जा ३ अर्ब ६ करोड रुपैयाँले बढेर २ खर्ब ९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । सिटिजन्स बैंकले ६ अर्ब ८० करोड रुपैयाँ कर्जा विस्तार गर्दै १ खर्ब ८४ अर्ब १३ करोड रुपैयाँ पुर्‍याएको छ । माछापुच्छ्रे बैंकको कर्जा ९ अर्ब २९ करोड रुपैयाँले बढेर १ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । नेपाल एसबीआई बैंकले ३ अर्ब ६२ करोड रुपैयाँ कर्जा थप गर्दै १ खर्ब ५६ अर्ब ७३ करोड रुपैयाँ पुर्‍याएको छ । सबैभन्दा कम कर्जा प्रवाह गर्ने बैंकको सूचीमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा पनि १ अर्ब ९ करोड रुपैयाँले बढेर ७१ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

यद्यपि, सबै बैंकको कर्जा प्रवाहमा वृद्धि भने देखिएको छैन । समीक्षा अवधिमा प्रभु बैंक र एनआईसी एसिया बैंकको कर्जा घटेको छ । प्रभु बैंकको कर्जा ५ अर्ब ४४ करोड रुपैयाँले घटेर २ खर्ब ३२ अर्ब १९ करोडबाट २ खर्ब २६ अर्ब ७५ करोड रुपैयाँमा झरेको छ । त्यस्तै, एनआईसी एसिया बैंकको कर्जा ५ अर्ब १३ करोड रुपैयाँले घटेर २ खर्ब ११ अर्ब १३ करोडबाट २ खर्ब ६ अर्ब रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*