नेष्डो समृद्ध लघुवित्तको आठौं वार्षिक साधारण सभा पुस ३ गते, सञ्चालक निर्वाचनदेखि मर्जर प्रस्तावसम्म

११ मंसिर २०८३, शुक्रबार ०८:४६

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरिनेछ ।

सभामा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि पेस हुनेछ । साथै सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गर्ने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभामा पेस हुनेछ । प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन आएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेको छ ।

सभाले अन्य इजाजतपत्र प्राप्त एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गर्नेछ । यसअन्तर्गत समझदारीपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने र मर्जर तथा प्राप्तिसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउने विषय समेटिएको छ ।

संस्थाले साधारण सभा प्रयोजनका लागि मंसिर १८ गते शेयर दाखिला खारेज किताब बन्द गर्ने जनाएको छ । त्यसअनुसार मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई तोकिएको समयभित्र शेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडमा शेयर नामसारी गराएका शेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*