२९ फर्म तथा कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा

११ मंसिर २०८३, शुक्रबार १८:०५

काठमाडौं । सरकारले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले शुक्रबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रचलित कानुनअनुसार ती फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएका हुन्।

उनका अनुसार निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्श प्रदान गरिएको छ। यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिनियर म्यानेजमेन्ट टिमको बैठक सम्पन्न भएको छ। बैठकमा दैनिक कार्यसम्पादन, महाशाखा, क्षेत्र तथा शाखागत समन्वय र चालु आर्थिक वर्षका लक्ष्य तथा माइलस्टोन समयमै पूरा गर्न देखिएका समस्या समाधानका विषयमा छलफल भएको प्रवक्ता अर्यालले बताए।

संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक कार्यक्रम, बजेट तथा योजनाबीच नीतिगत तादात्म्यता र सामञ्जस्यता कायम गर्दै दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने फ्रेमवर्कसमेत निर्माण गरिएको उनले जानकारी दिए।

त्यस्तै, भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मङ्सिर ११ गतेसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*