तीन समस्याग्रस्त सहकारीका २८ स्थानका जग्गा लिलाम गरिँदै

काठमाडौँ । समस्याग्रस्त घोषणा गरिएका तीन सहकारी संस्थाको नाममा विभिन्न जिल्लामा रहेका २८ स्थानका जग्गा लिलाम बिक्री गरिने भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, लालिगुराँस बहुउद्देश्यीय सहकारी र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीको नाममा रहेका जग्गा बिक्री प्रक्रिया अघि बढाएको हो।
समितिका अनुसार हाम्रो सगरमाथा सहकारीको गोरखास्थित दुई स्थानमा रहेको जग्गा लिलाम गरिनेछ। त्यस्तै, लालिगुराँस सहकारीको गोरखा, चितवन, ललितपुर र सिन्धुपाल्चोकमा रहेका ६ स्थानका जग्गा बिक्री गरिनेछ। गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीको भने सिन्धुलीको जिनाखु–८ मा रहेका २० स्थानका जग्गा लिलाम गर्ने तयारी छ।
सहकारीका ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकबाट असुल गर्नुपर्ने साँवा, ब्याज र हर्जाना उठाउन कानुनी प्रक्रिया अघि बढाउँदा पनि दायित्व पूरा नभएपछि सहकारीको नाममा रहेको सम्पत्ति बिक्री गर्न लागिएको समितिले जनाएको छ। उक्त सम्पत्ति बिक्रीबाट प्राप्त रकम बचतकर्ताको बचत फिर्ता गर्ने प्रयोजनमा उपयोग गरिनेछ।
जग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था तथा बचतकर्ताले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्रदाताले समितिले निर्धारण गरेको न्यूनतम मूल्यभन्दा कम रकम प्रस्ताव गर्न पाउने छैनन्।
सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को व्यवस्थाअनुसार अघि बढाइएको लिलाम प्रक्रियामार्फत समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन गरी बचतकर्ताको रकम फिर्ता गर्ने लक्ष्य समितिले राखेको छ।












