नेपाल पुनर्बीमा कम्पनीको दशौं वार्षिक साधारण सभा पुस ६ गते, हकप्रद निष्कासन प्रस्ताव लैजाने

११ मंसिर २०८३, शुक्रबार ११:२७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पुस ६ गते आर्थिक वर्ष २०८०/८१ को दशौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको ६३७औं बैठकले काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै आर्थिक वर्ष २०८१/८२ का लागि के.जे. एन्ड एसोसिएट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत रहेको छ । जसअनुसार नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताबाट दुई जना र सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालक निर्वाचित गरिनेछ ।

यसैगरी कम्पनीको अधिकृत पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउने र जारी तथा चुक्ता पुँजी १५ अर्ब ६९ करोड २८ लाख ९९ हजार ४२ रुपैयाँ १७ पैसा कायम गर्ने विशेष प्रस्ताव सभामा पेस हुनेछ । उक्त प्रस्तावअनुसार कम्पनीको प्रबन्धपत्रमा रहेको पुँजी संरचनासम्बन्धी व्यवस्था संशोधन गरिनेछ ।

त्यसैगरी कम्पनी ऐन, २०६३ अनुसार सञ्चालक समितिको निर्णयबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै सुझाव आएमा सोहीअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेको छ ।

यसैगरी कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउने प्रयोजनका लागि नेपाल सरकारको विद्यमान ४४.०३९००५१००१६४२६ प्रतिशत शेयर स्वामित्व नघट्ने गरी हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । नेपाल सरकारबाट चालु आर्थिक वर्षमा शेयर लगानीका लागि एक अर्ब रुपैयाँ प्राप्त हुने पत्रअनुसार उक्त रकमको अनुपातमा १६.९१७६००३२०८०८३ प्रतिशत हकप्रद शेयर निष्कासनमार्फत चुक्ता पुँजी वृद्धि गर्ने स्वीकृति माग्ने निर्णय सञ्चालक समितिले गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । अतः बुक क्लोजका आधारमा मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबार भई कायम शेयरधनीमात्रै सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*