बैंकहरूको सीडी रेसियोमा निरन्तर गिरावट: औसत ७०.३६ प्रतिशतमा झर्यो, कुनको कति ?

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदै जाँदा वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) थप घटेको छ । एक वर्षको अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ३.४० प्रतिशत बिन्दुले घटेर ७०.३६ प्रतिशतमा झरेको हो ।
चालु आर्थिक वर्ष २०८३/०८४ को कात्तिक मसान्तसम्म बैंकहरूको औसत सीडी रेसियो ७०.३६ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिमा यस्तो अनुपात ७३.७६ प्रतिशत रहेको थियो ।
बैंकहरूले संकलन गरेको निक्षेपको तुलनामा कर्जाका रूपमा परिचालन गरेको रकमको अनुपातलाई सीडी रेसियो भनिन्छ । सरल भाषामा भन्नुपर्दा बैंकसँग १०० रुपैयाँ निक्षेप हुँदा त्यसको तुलनामा कति रकम कर्जामा लगानी गरिएको छ भन्ने यसले देखाउँछ । यद्यपि, नियामकीय गणनामा सामान्य निक्षेपबाहेक निश्चित प्रकारका ऋणपत्र, एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रा ऋण तथा नेपाल राष्ट्र बैंकबाट प्राप्त पुनर्कर्जा रकमलाई समेत निक्षेपका रूपमा समायोजन गर्न सकिने व्यवस्था छ । अन्तरबैंक निक्षेप भने सीडी रेसियो गणनामा समावेश हुँदैन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि यस्तो अनुपातको अधिकतम सीमा ९० प्रतिशत तोकेको छ ।
बैंकगत विवरण हेर्दा कात्तिक मसान्तसम्म सबैभन्दा उच्च सीडी रेसियो प्राइम बैंकको देखिएको छ । बैंकको सीडी रेसियो ८६.९४ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.३१ प्रतिशत बिन्दुले बढी हो ।
दोस्रो स्थानमा रहेको एनएमबी बैंकको सीडी रेसियो ८३.१३ प्रतिशत कायम हुँदा नबिल बैंकको ८०.६१ प्रतिशत पुगेको छ । त्यस्तै, सानिमा बैंकको ७९.०७ प्रतिशत, माछापुच्छ्रे बैंकको ७८.१२ प्रतिशत र एभरेस्ट बैंकको ७६.४२ प्रतिशत रहेको छ ।
यता, सीडी रेसियो सबैभन्दा कम हुनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक देखिएको छ । बैंकको यस्तो अनुपात ४६.०५ प्रतिशतमा सीमित भएको छ । गत वर्षको कात्तिकमा ६०.६३ प्रतिशत रहेको यसको सीडी रेसियो एक वर्षमा १४.५८ प्रतिशत बिन्दुले घटेको हो । राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो पनि ६०.१४ प्रतिशतबाट घटेर ४८.६६ प्रतिशतमा झरेको छ । त्यस्तै, नेपाल बैंकको ६१.६५ प्रतिशत, एनआईसी एसिया बैंकको ६१.१० प्रतिशत र प्रभु बैंकको ६४.२६ प्रतिशत कायम भएको छ ।
एक वर्षको तुलनामा पाँच बैंकको सीडी रेसियो बढेको छ भने १५ बैंकको घटेको छ ।












