निर्जीवन बीमकको टाउकोमा ११ अर्ब ७० करोड दाबी बक्यौता, एक वर्षमा ५.३० प्रतिशतले बढ्यो

११ मंसिर २०८३, शुक्रबार १४:१५

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीको खुद दाबी बक्यौता रकम एक वर्षमा ५.३० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको असोजसम्ममा यी कम्पनीहरूको कुल खुद दाबी बक्यौता ११ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको असोजसम्म यस्तो रकम ११ अर्ब ११ करोड १० लाख रुपैयाँ थियो। एक वर्षमा कुल बक्यौता ५८ करोड ८४ लाख रुपैयाँले बढेको हो।

कम्पनीगत रूपमा हेर्दा सबैभन्दा धेरै खुद दाबी बक्यौता हिमालयन एभरेष्ट इन्स्योरेन्सको रहेको छ। कम्पनीको बक्यौता १ अर्ब १६ करोड ११ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को १ अर्ब १५ करोड ८१ लाख र तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १ अर्ब १४ करोड २९ लाख रुपैयाँ छ। त्यस्तै नेको इन्स्योरेन्सको १ अर्ब ८ करोड ४८ लाख, ओरिएन्टल इन्स्योरेन्सको ९७ करोड ३३ लाख र नेशनल इन्स्योरेन्सको ९६ करोड २४ लाख रुपैयाँ बक्यौता रहेको छ।

यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८३ करोड ९० लाख, सानिमा जीआईसी इन्स्योरेन्सको ८२ करोड ६७ लाख, नेपाल इन्स्योरेन्सको ७९ करोड ३० लाख, युनाइटेड अजोड इन्स्योरेन्सको ६६ करोड ५७ लाख र एनएलजी इन्स्योरेन्सको ६५ करोड ५८ लाख रुपैयाँ खुद दाबी बक्यौता छ। राष्ट्रिय बीमा कम्पनीको ६३ करोड ८० लाख, शिखर इन्स्योरेन्सको ६१ करोड ६२ लाख र सबैभन्दा कम प्रभु इन्स्योरेन्सको १८ करोड १८ लाख रुपैयाँ रहेको छ। सबैभन्दा धेरै बक्यौता रहेको हिमालयन एभरेष्ट र सबैभन्दा कम रहेको प्रभु इन्स्योरेन्सबीच झण्डै ९८ करोड रुपैयाँको अन्तर रहेको छ।

अघिल्लो वर्षको तुलनामा बक्यौता वृद्धिदर हेर्दा नेपाल इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको खुद दाबी बक्यौता १२९.६३ प्रतिशतले बढेको छ। त्यस्तै एनएलजी इन्स्योरेन्सको ९१.९० प्रतिशत, सानिमा जीआईसीको ३७.३१ प्रतिशत, हिमालयन एभरेष्टको २५.१६ प्रतिशत, नेको इन्स्योरेन्सको १५.३८ प्रतिशत, युनाइटेड अजोडको १२.६० प्रतिशत र आईजीआई प्रुडेन्सियलको २.६४ प्रतिशतले बढेको छ।

अर्कोतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद दाबी बक्यौता सबैभन्दा धेरै २१.२२ प्रतिशतले घटेको छ। प्रभु इन्स्योरेन्सको २०.९१ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको २०.७५ प्रतिशत, शिखर इन्स्योरेन्सको १७.४४ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ११.८६ प्रतिशत, नेशनल इन्स्योरेन्सको ४.२३ प्रतिशत र सलिकोको ०.२४ प्रतिशतले घटेको छ।

समग्रमा १४ कम्पनीमध्ये सात वटाको खुद दाबी बक्यौता बढेको छ भने सात वटाको घटेको छ। विशेषगरी नेपाल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्समा उच्च वृद्धिदर देखिएको छ। अर्कोतर्फ सिद्धार्थ प्रिमियरमा सबैभन्दा धेरै गिरावट आएको छ।

यो कुल दाबी दायित्वबाट पुनर्बीमा कम्पनीबाट प्राप्त हुने रकम घटाएपछि बाँकी रहने खुद दायित्व हो। यसमा आईबीएनआर अर्थात् बीमासम्बन्धी घटना भइसके पनि कम्पनीमा दाबीको जानकारी नआइसकेको अनुमानित रकम र आईबीएनईआर अर्थात् दाबीको जानकारी आइसके पनि प्रारम्भिक रूपमा अनुमान गरिएको रकमभन्दा थप दायित्व सिर्जना हुन सक्ने रकमसमेत समावेश हुन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*