कोरोना संक्रमणदर एकाएक बढ्न थाल्यो, भक्तपुर र ललितपुरका सीडिओको बैठक आज बस्दै

२५ पुष २०७८, आईतवार १३:४५

काठमाडौं । कोरोना संक्रमण तीव्र रुपले बढ्न थालेपछि प्रत्येक जिल्लाले आ–आफ्नो तरिकाबाट सतर्कता तथा पूर्वतयारीका काम अघि बढाउन थालेका छन् ।

शुक्रबार एकैदिन ९६८ जनामा कोरोना संक्रमण र २४ जनामा कारोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन भेरियन्ट’ पुष्टि भएको थियो । संक्रमणदर एकाएक बढ्दै गएपछि काठमाडौं उपत्यकामा समेत थप स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो ।

सोही क्रममा जिल्लामा आ–आफ्नो ढंगले गर्नुुपर्ने कामको तयारीका लागि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक बोलाएका छन् । संक्रमणदर बढ्दै गएपछि दुई दिनअघि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक बसेको थियो । तर बैठकपछि स्वास्थ्य मन्त्रालय तथा सीसीएसीले भने कुनै पनि निर्णय अर्थात् निर्देशन जारी गरेका छैनन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पब्लिक मोबिलिटीलाई घटाउने, स्वास्थ्य मापदण्डलाई परिपालन गराउने र खोपलाई भ्यासिभली अघि बढाउनुपर्ने बताएका छन् ।

त्यस्तै, काठमाडौं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले स्वास्थ्य मापदण्ड पालना गराउने र अन्य तयारीका सम्बन्धमा तयारी अघि बढाउने लगायतका काम गरिएको बताएका छन् । साथै उनका अनुसार भक्तपुर र ललितपुरको जस्तो छुट्टै बैठक भने बोलाइएको छैन । तर छुट्टाछुट्टै छलफल गरेपछि भने तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*