महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा फागुन १३ गते हुने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभा फागुन १३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गर्नेछ ।
सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि कार्य सूचिमा राखेको छ ।
यी प्रस्तावसँगै बैंकले सञ्चालक समितिको बैठक भत्ता, दैनिक भ्रमण भत्ता लगाएतका अन्य सुविधालाई बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गरेको हुदाँ पुस १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
यसअघि बैंकको सभा पुष २५ गते आह्वान गरेकोमा संस्थापक समूह र सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदको निर्वाचन गर्ने विषयसूची रहेकोमा बैंकका शेयरधनी गिरीराज पोखरेल र प्रमोद श्रेष्ठको उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भई उक्त अदालतबाट पुष २३ गते विपक्षीहरुका नाममा १५ दिनभित्र लिखित जवाफ माग गरिएकोमा निर्वाचन बाहेक अन्य प्रस्तावहरुका लागि सोही मितिमा डोकेको सभा गणपुरक संख्या नपुगेको कारण स्थगित हुन पुगेको थियो ।
बैंकको संचालक समितिको पुष २५ गते बसेको आकस्मिक बैठकले पुनः साधारण सभा माघ ३ गते बस्ने निर्णय गरेकोमा शेयरधनीहरु पोखरेल र श्रेष्ठले पुनः साधारण सभा समेत रोकी पाउ भनी अदालतमा दिएको रिट निवदेनबमोजिम अन्तरिम आदेशको टुंगो नलागेसम्म साधारण सभा पुनः स्थगित हुन पुगेको थियो ।
माघ ३ गते अदालतमा सोही रिट निवेदनमा अन्तरीम आदेश छपर छलफल हुँदा निवेदनमा उठाइएका विषयवस्तुका सम्बन्धमा निवेदनको टुंगो लाग्दाको अवस्थामा समग्र रुपमा विवेचना भई ठहरे बमोजिम हुने नै देखिएकाले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी हुने अवस्थाको विद्यमानता नुहँदा उक्त अदालतबाट पुष २३ गते जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भन्ने आदेश भई संचालक पदको निर्वाचन लगायत अन्य साधारण सभाका प्रस्तावहरु पारित गर्न सकिने अवस्था भएकोमा बैंकको फागुन ५ गते बसेको संचालक समितको बैठकले साधारण सभा फागुन १३ मा बस्ने निर्णय गरेको हो ।













