एनआइसी एशिया लघुवित्तको खुद नाफा ४७ करोड ८४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उत्त विवरणअनुसार संस्थाको नाफामा सुधार आएको छ ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले चालु आवको यसै अवधिसम्ममा ११.९९ प्रतिशतले खुद नाफा बढेर ४७ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि बृद्धि भएको छ । यस अवधिसम्ममा खुद ब्याज आम्दानी १९ प्रतिशतले बढेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिसम्ममा यस्तो आम्दानी ९२ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।
साथै संचालन नाफा पनि २१.६७ प्रतिशतले बढेर ७५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत आवमा संस्थाको संचालन नाफा ६२ करोड ४० लाख रुपैयाँ रहेको थियो । यस अवधिसम्ममा एनआइसी एशिया लघुवित्तको खुद ब्याज आम्दानी र संचालन बढेसँगै खुद नाफामा सुधार देखिएको हो ।
कम्पनीले चालु आवको चैत मसान्तसम्ममा ३ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २२ अर्ब ९९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिसम्ममा संस्थाले रिजर्भको आकार समेत ६४ प्रतिशतले बढाएर १ अर्ब ३१ करोड रुपैयाँ संचित गर्न सफल भएको छ ।
त्यस्तै, वार्षिकी प्रतिशेयर आम्दानी ४.१६ रुपैयाँ बढेर ३६.९१ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २९.६९ रुपैयाँ बढेर १७५.४१ रुपैयाँ पुगेको छ ।












