एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स मर्जरपछि दुई अर्ब ४२ करोड चुक्ता पुँजि, स्वाप रेसियो र कूल सम्पत्ति मूल्य कति ?

काठमाडौं । आज भएको एमओयु सम्झौता अनुसार मर्जर प्रक्रिया सम्पन्न भएमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मिलेर बन्ने नयाँ कम्पनीको चुक्ता पुँजि दुई अर्ब ४२ करोड ७७ लाख ३२ हजार चुक्ता पुँजि पुग्नेछ।
मर्जरपछि पनि बीमा समितिले तोकेको साढे दुई अर्ब चुक्ता पुँजि पुग्ने छैन । यद्यपि एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ६.६५ प्रतिशत बोनस शेयरसहित दिने निर्णय कार्यान्वयन हुन बाँकी छ । सो समेत गर्दा एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजि एक अर्ब १७ करोड ३१ लाख १२ हजार रुपैयाँ छ ।

त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजि एक अर्ब २५ करोड ४६ लाख २० हजार रुपैयाँ चुक्ता पुँजि पुगिसकेको छ ।मर्जरपछि दुई कम्पनीका करिब ४०० जना कर्मचारी तथा देशैभरि ६० वटा भन्दा बढि शाखा कार्यालय हुनेछन् ।
दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार दुई कम्पनी मध्ये एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिशेयर कूल आम्दानी १०.१४ रुपैयाँ छ भने हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ९.४९ रुपैयाँ छ । त्यस्तै प्रतिशेयर कूल सम्पत्ति हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २६०.९७ रुपैयाँ छ भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको २४०.२१ रुपैयाँ रहेको छ ।
दुवै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) सकिएपछि शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) तय हुने हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सिइओ विजय बहादुर शाहले बताए ।
बीमा समितिले निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको न्यूनतम चुक्ता पुँजी दुई अर्ब रुपैयाँ तोकेको छ । समितिले २०७९ चैतभित्र चुक्ता पुँजी न्यूनतम दुई अर्ब रुपैयाँ पुर्याउन समयसीमा समेत दिएको छ । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि दुवै कम्पनीहरू मर्जमा जान लागेका हुन् । दुवैले हकप्रद सेयर निष्कासन नगरी मर्जमा जाने बाटो रोजेका छन् ।दुवै संस्थाको एमओयूले अब अन्य कम्पनीलाई पनि मर्जमा जान दबाब सिर्जना हुनेछ ।













