एनआइसी एशिया र नबिल बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन पनि शेयरबजारमा उच्च गिरावट आएको छ । बजेट घोषणापछिका दुई दिनयता शेयरबजार प्रभावित बन्दै गइरहेको छ ।
बजेटपछि शेयरबजार बढ्न सक्ने लगानीकर्ताहरुले प्रक्षेपण गरिएतापनि सोमबार शेयरबजार ४५ अंकले घट्न पुग्यो । आज पनि नेप्से परिसूचक ३५ अंकले घट्न पुगेको छ ।
शेयरबजार घटेसँगै शेयरको मात्रा र कारोबार रकम समेत खुम्चिन पुगेको छ । गत वर्षको साउन भदौ महिनामा १८।१९ अर्बसम्मको कारोबार हुने पुँजीबजारमा चालु आर्थिक वर्षको अन्तिमतिर कारोबार ३ अर्बमाथि उक्लिन सकेको छैन ।
धितोपत्र दोस्रो बजारमा शेयर कारोबार गर्ने लगानीकर्ताहरुको संख्या थपिँदै गएपनि कारोबारको मात्रा घट्दै गइरहेको छ । बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता अभाव, बीमा कम्पनीहरुमा पुँजीको अभाव जस्ता कुराले लगानीकर्ताहरुले शेयर किन्ने समयमा पनि खरिद गर्न डराइरहेका छन् । आफुसँग भएको शेयर पनि ‘होल्ड’ गरेर राखेका कारण शेयरबजारमा कारोबार रकम माथि उक्लिन नसकेको हो ।
आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक एनआईसि एशिया बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ५ करोड ३७ लाख ९८ हजार ८ सय रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ३ करोड ९८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ६८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड १३ लाख रुपैयाँ र सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ३ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














