अप्पर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज (जेठ २०) गतेसम्म मात्रै स्थानीयले आवेदन दिन पाउनेछन् ।
कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयरमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् ।













