रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्काशन मूल्य ७२९ रुपैयाँ जाहेज हुने बिक्री प्रबन्धकको निष्कर्ष

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको बुक बिल्डिङमार्फत निष्काशन गरिने शेयरको मूल्य (भ्यालुएसन मूल्य) प्रतिकित्ता ७२९ रुपैयाँ ९८ पैसा पर्ने देखिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले उक्त भ्यालुएस मूल्य जाहेज हुने निष्कर्ष निकालेको हो । यद्यपि सोही मूल्यमा नै शेयर निष्काशन गर्ने निश्चित भने भइसकेको छैन ।
कम्पनीले बुकबिल्डिङमार्फत आइपीओ निष्काशन गर्न संस्थागत लगानीकर्ताहरुसँग यही असार २३ गते छलफल गर्दैछ । योग्य संस्थागत लगानीकर्ताहरुले खरिद गर्न चाहेको शेयर संख्या, आशय मूल्य र विवरणपत्रमा सुझावसमेत प्राप्त गर्ने उद्देश्यले कम्पनीले उक्त छलफल बोलाएको हो ।
रिलायन्स स्पिनिङ्ग मिल्सको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको भ्यालुएसन मूल्य निकाल्दा बिक्री प्रबन्धकले गुणात्मक र मात्रात्मक कारकहरुको विश्लेषण गरेर उक्त मूल्य तय गरेको हो । मूल्य निकाल्नको लागि ४ वटा तरिका अपनाइएको बिक्री प्रबन्धकले जनाएको छ ।
तर उक्त मूल्य नै आइपीओ निष्काशन मूल्य भने होइन । कम्पनीले संस्थागत लगानीकर्ताहरुबाट प्राप्त आशय मूल्यको अध्ययन आइपीओ मूल्य आधार तयार पार्नेछ । हाल बिक्री प्रबन्धकले निष्कर्ष निकालेको भ्यालुएसन मूल्य भने ७२९ रुपैयाँ ९८ पैसा रहेको छ ।













