कामना सेवा विकास बैंकको तीन स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप तीन नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
उक्त बैंकले सेवा विस्तार गर्ने क्रममा असार २६ गतेबाट मोरङको केराबारी गापा–१० थापाटारमा, सुन्दर हरैंचा नपा–१२ शुक्रबारेमा र झापाको बुद्ध शान्ति गापा–१ नमुनाचोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीयका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो।
शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ। सो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।













