हिमालयन हाइड्रोपावरको आइपीओ भोलि बिहान बाँडफाँड हुँदै, साढे १४ लाखको हात खाली हुने

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि (असार २८) गते बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आइपीओ भोलि बिहान ८ः३० बजे क्यापिटलकै कार्यालयमा बाँडफाँड हुनेछ ।
क्यापिटलले गत शुक्रबार आइपीओको प्रि अलटमेन्ट गरेको थियो । असार १५ गतेदेखि निष्काशन गरेको कम्पनीको शेयरमा १० गुणा बढी आवेदन परेको छ । तथ्याँक अनुसार कम्पनीको आइपीओमा १६ लाख २६ हजार ४३० आवेदकबाट १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ३० हजार ४७२ कित्ताको १०.०६ गुणा बढी हो ।
कम्पनीले असार १५ गतेदेखि प्रतिशेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँटफाँड हुनेछ ।
कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख ८३ हजार ४७ जनाले मात्रै शेयर पाउनेछन् । बाँकी रहेका करिब १४ लाख ४३ हजार आवेदकको हात खाली हुनेछ ।













