एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ८.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्नेभएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयर बजार बन्द हुनुभन्दा अघि कायम ३४८ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेपछिको शेयरमूल्य ३२० रुपैयाँ ७४ पैसा कायम गरेको छ ।
सोही मूल्यका आधारमा नै भोलि शेयरबजारमा कम्पनीको कारोबार खुल्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुपँजी १ अर्ब १५ करोड रुपैयाँबाट ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५१ लाख ५२ हजार रुपैयाँ प्रस्ताव गरेको छ ।
सोही प्रस्ताव पारित गर्न कम्पनीले साउन ९ गते सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे बस्नेगरी १६औं वार्षिक साधारण सभा आह्वान गरेकोछ ।













