धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब, चालु आवको जेठ मसान्तसम्ममा पौन ५२ अर्ब रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ४४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आव २०७८।०७९को एघार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार धितोपत्र बजार पुँजीकरण घट्न पुगेको हो ।
२०७८ साल जेठ मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण ४२ खर्ब १६ अर्ब रुपैयाँ रहेको थियो । यस आवको सुरुवातीमा धितोपत्र बजारमा उत्कृष्ट सुधार देखिएपनि त्यसलगत्तैका महिनायता बजार खस्किँदै गएकाले पुँजीकरण घट्दै गएको हो ।
गत वर्षको यस अवधिसम्म ३०२५ विन्दुमा रहेको नेप्से सूचकांक २०७९ जेठ मसान्तसम्ममा १९९६.३ विन्दुसम्म पुगेको छ ।
त्यस्तै, यस अवधिसम्म नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २३२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४९ हाइड्रोपावर कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ जेठ मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २२० रहेको थियो ।
साथै नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६७.७ प्रतिशत रहेको छ । त्यसैगरी हाइड्रोपावरको १०.८ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको एघार महिनासम्ममा नेपाल स्टकक एक्सचेञ्ज (नेप्से)मा ५४ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ५१ अर्ब ८१ करोड बराबरको बोनस शेयर, ४९ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेञ्चर, २४ अर्ब ८ करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ), १० अर्ब ८८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल १ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् ।













