चालु आर्थिक वर्षको अन्तिम दिन शेयरबजारमा सामान्य सुधार, ५ उपसूचक चम्किँदा डेढ अर्बको कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन शुक्रबार नेप्सेमा सामान्य सुधार देखिएको छ । यस आर्थिक वर्षमा शेयरबजारमा निकै उतारचढाव आए । केही महिनायता घट्दै गएको शेयरबजारमा यस आवको अन्तिम दिन झिनो अंकले बढेर कारोबार बन्द हुन पुगेको छ ।
शुक्रबार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
चालु आर्थिक वर्षको सुरुवाती महिनाहरुमा शेयरबजारमा निकै रौनकता छाएको थियो । लगानीकर्ताहरुमा उत्साह थपिएसगै साउन महिनामा २० अर्बसम्मको कारोबार भएको थियो । नयाँँ अर्थमन्त्री जनार्दन शर्माको नियुक्तिसँगै शेयरबजारमा गिरावट आउन सुरु भयो ।
बजार घट्दैघट्दै १८ सयको इन्डेक्समा पुग्यो । २४ सय विन्दुमा पुगेको नेप्से सूचक घटेर १८ सयको विन्दुमा आउँदा लगानीकर्ताहरु केही महिनायता आक्रोशित छन् । पुँजीबजार सुधारका लागि विभिन्न खालका कदम चालेपनि लगानीकर्ताको माग सम्बोधन हुन सकेको छैन ।
आर्थिक संकटकाबीच आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये ५ समूह बाहेकका सबै सूचक राताम्य रहेका छन् । आज म्युचुअल फण्ड, जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक र बैकिङ्ग सूचकमा हरियाली छाएको छ भने अन्य सूचक सबै घटेको छ । सर्वाधिक घट्नेमा अन्य सूचकको १.६८ प्रतिशतले घटेको छ ।














