नेष्डो समृद्ध लघुवित्तको साधारण सभा सम्पन्न, सर्वसाधारणबाट २ जना संचालक निर्वाचित

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सम्पन्न भएको छ । सभा आज (असार ३१ गते) कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा कम्पनीकी अध्यक्ष साबित्री खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त सभामा संस्थाका प्रबन्ध संचालक विश्व प्रकाश प्रसाईका साथै संचालक सदस्य रत्न प्रसाद अधिकारी, रेशम बहादुर खत्री र स्वतन्त्र संचालक दुर्गा बहादुर शाहको उपस्थिति रहेको थियो ।
उक्त सभाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त संस्थासँग एकआपसमा गाभ्ने।गाभिने वा प्राप्ति गर्ने सम्बन्धित सम्पूर्ण आवश्यक कार्यहरु गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
साथै नेपाल राष्ट्र बैंकको स्वीकृति लिई डिजिटल बैकिङ्ग सम्बन्धि कार्यहरु गर्ने प्रबन्धपत्रको दफा ५ (त) थप गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।
यसबाहेक गत आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ र सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह, २०७८ को असार मसान्तसम्मको वासलात सम्बन्धि वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरेको छ ।
साथै आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालक नियुक्तिको अनुमादेन गर्ने र संचालक समितिमा सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने जलजला गाँउपालिका वडा नं. ८ नाङ्गलीवाङ्ग पर्वत निवासी विप्लवजंग हमाल र चन्द्रगिरी नगरपालिका, वडा नं. १० सतुङ्गल काठमाण्डौ निवासी एन्जल श्रेष्ठ गरी दुईजना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षमा मात्रै सर्वसाधारणहरुका लागि आइपीओ जारी गरेको थियो । कम्पनीले यसर्थ गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको थिएन ।













