बैंकहरुले चौथो त्रैमासको वित्तीय विवरण आर्थिक वर्ष सकिएको तीन साताभित्र पेश गर्नुपर्ने, राष्ट्र बैंकद्धारा निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८, संशोधन गरेको छ ।केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन २०७८ मा भएको विद्यमान व्यवस्था संशोधित गरेको हो ।
संशोधित निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण साउन २१ गतेभित्र सार्वजनिक गर्नुपर्नेछ । राष्ट्र बैंकले संशोधित गरेको निर्देशिकामा चौथो त्रैमासको अन्तरिम वित्तीय विवरण तथा प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।
यसअघि राष्ट्र बैंकको एकीकृत निर्देशन २०७८ मा आर्थिक वर्ष २०७७।०७८ को चौथो त्रैमाससम्मको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) २०७८ साउन मसान्तसम्म प्रकाशन गर्न पाउने व्यवस्था रहेको थियो ।
केन्द्रीय बैंकको एकीकृत निर्देशनमा बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय सूचकहरुको अन्तरिम विव्त्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रैमासको महिना व्यतित भएको मितिले ७ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरि सो को प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनुपर्नेछ ।
साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँँचामा आफ्नो वेबसाइटमा राख्नुपर्नेछ । यसरी विस्तृत अन्तरिमक वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यवहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गनुपर्ने व्यवस्था रहेकोछ ।













