एक वर्षमा ग्लोबल आइएमई बैंकको खुद नाफा ५ अर्बभन्दा माथि, वितरणयोग्य मुनाफा कति ?

६ श्रावण २०७९, शुक्रबार १०:१२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले सो अवधिसम्ममा खुद नाफामा उल्लेख्य प्रगति गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै बढ्न पुगेको छ । खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै बैंकको नाफा बढ्न टेवा पुगेको हो ।

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशत बढेर १० अर्ब ७४ करोड ६ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा २६.९० प्रतिशतले बढेर ७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.४९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर २३ अर्ब ७९ करोड रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार २०.४२ प्रतिशत बढेर १३ अर्ब ३५ करोड रुपैयाँ संचित रहेको छ । त्यसैगरी, बैंकको निक्षेप ३.३७ प्रतिशत र कर्जा १३.०७ प्रतिशत बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*