चौथो त्रैमाससम्म महुली लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.७१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै बढ्न पुगेको छ । यसकारण संस्थाको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.५० प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ५५.५८ प्रतिशत बढेको छ । त्यसैगरी सञ्चालन मुनाफा २५.७८ प्रतिशत बढेको छ ।
खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ३१ पैसा घटेर ३८ रुपैयाँ ४८ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.०१ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ५६ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २६ प्रतिशत बढेर २८ करोड २१ लाख रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार १७.८२ प्रतिशतले बढेर २९ करोड २२ लाख रुपैयाँ संचित रहेको छ ।
त्यसैगरी, लघुवित्तको सापटी ४४.९९ प्रतिशत, निक्षेप २७.१५ प्रतिशत र कर्जा ३८.३४ प्रतिशत बढेको छ ।













