एक वर्षमा सिटिजन बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा १ अर्ब ४२ करोड रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा सुधार देखिएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै बढ्न पु्गेको छ । यसकारण बैंकको खुद नाफा बढ्नमा टेवा पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १५.५७ प्रतिशत बढेको छ । त्यसैगरी सञ्चालन मुनाफा २४.९४ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १५ रुपैयाँ ८५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.९१ प्रतिशत बढेर १४ अर्ब २० करोड रुपैयाँ पुगेकोमा बैंकको रिजर्भको आकार २.१३ प्रतिशत बढेर ६ अर्ब ४४ करोड रुपैयाँ संचित रहेको छ ।
त्यसैगरी, बैंकको निक्षेप ८.६५ प्रतिशत र कर्जा १०.६८ प्रतिशत बढेको छ ।













