खुद ब्याज आम्दानी बढेसँगै लुम्बिनी विकास बैंकको नाफामा उल्लेख्य सुधार, वितरणयोग्य मुनाफा २९% बढ्दा इपिएस कति ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।
गत आवको असार मसान्तसम्ममा बैंकले ६७ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५५.६९ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म बैंकले ४३ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै बढ्न पुगेको छ । यसकारण पनि बैंकको नाफा बढ्नमा टेवा पुगेको हो ।
असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३०.१५ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६० प्रतिशतले बढेर ९७ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
साथै बैंकको यस अवधिसम्म निष्क्रिय कर्जा समेत घट्न पुगेको जसकारण बैंकले नाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ ।
खुद नाफामा उल्लेख्य सुधार गरेसँगै बैंकको यस अवधिसम्म वितरणयोग्य मुनाफा २९.२४ प्रतिशत बढेर ४७ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै यस अवधिसम्म बैंकको चुक्तापुँजी १३ प्रतिशत बढेर ३ अर्ब २८ करोड ४२ लाख रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार ६.१५ प्रतिशतले बृद्धि भई २ अर्ब ५३ करोड रुपैयाँ संचित रहेको छ ।
त्यस्तै, नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसा बढेर २० रुपैयाँ ५७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ १९ पैसा रहेको छ । त्यसैगरी, बैंकको निक्षेप १७.८८ प्रतिशत र कर्जा २८.३३ प्रतिशत बढेको छ ।













