शेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गर्ने कार्यविधिमा जुट्यो धितोपत्र बोर्ड, साउन दोस्रो सातादेखि व्यवस्था खारेज हुने

८ श्रावण २०७९, आईतवार १९:१७

काठमाडौं । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्ने/नरोक्ने निर्णय गर्ने अन्तिम जिम्मा धितोपत्र बोर्डले पाएको छ । मैद्रिक नितिमा शेयर रोक्काको व्यवस्था हटाउने भएसँगै नेपाल धितोपत्र बोर्ड कार्यविधि बनाउनतर्फ लागेको छ । बोर्डले कमिटि बनाएर कामको बाँडफाँड भईसकेको जनाएको छ।

उक्त कमिटिले छिट्टै प्रतिवेदन बुझाउने गरी काम गरिरहेको बताइएको छ । निष्कर्ष आएसँगै त्यसै अनुरुपमा जाने तयारी भईरहेको बोर्डले जनाएको छ। धितोपत्र बोर्डको नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा कार्यविधि निर्माण समिति बनेको छ ।

मर्जर प्रक्रियामा गएका कम्पनीको सेयर रोक्का गर्नेसम्बन्धी व्यवस्था राष्ट्र बैंकले खारेज गरेपछि अब त्यो निर्णयको अधिकार धितोपत्र बोर्डमा स्थानान्तरण हुने भएको हो ।हाल संस्थाको हकमा उक्त प्रक्रिया पूरा नभएसम्म न (नेप्से ले दोस्रो बजारमा सेयर कारोबार रोक्का राख्दै आएको छ । ‘बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, ०७३’ को व्यवस्थाअनुसार नेप्सेले मर्जरमा जाने वित्तीय संस्थाको कारोबार रोक्दै आएको हो ।

‘मर्जर तथा एक्विजिसनका लागि राष्ट्र बैंकमा आवेदन दिँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निवेदनसाथ साधारणसभा तथा संचालक समितिको निर्णय, प्रारम्भिक समझदारीपत्रको प्रतिलिपि र नेपाल धितोपत्र विनिमय बजार लिमिटेडबाट गाभ्ने, गाभिने वा लक्षित संस्थाको सेयर कारोबार रोक्का गरिएको पत्र संलग्न गर्नुपर्नेछ,’ मर्जरसम्बन्धी विनियमावलीमा भनिएको छ, ‘गाभ्ने, गाभिने वा प्राप्ति (एक्विजिसन) कार्य सम्पन्न भएपछि रोक्का रहेको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।’

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विनियमावलीको उक्त व्यवस्था खारेज गर्ने घोषणा गरेको छ । उक्त व्यवस्था खारेज गरेपछि मर्जर तथा एक्विजिसनमा जाने वित्तीय संस्थाको सेयर कारोबार रोक्का गर्ने/नगर्ने सम्बन्धमा अन्योल सिर्जना भएको छ । ‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ ।

विद्यमान व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनका लागि समझदारीपत्रमा हस्ताक्षर (एमओयू) गरेपछि उक्त प्रक्रियामा सामेल हुने कम्पनीका सेयर कारोबार रोक्का गर्न नेप्सेमा आवेदन दिनुपर्छ । कम्पनीको पत्रका आधारमा नेप्सेले सेयर कारोबार रोक्का गरिदिन्छ । मर्जर प्रक्रिया पूरा भएपछि वा अवरुद्ध भएपछि सेयर कारोबार खुला गर्न नेप्सेलाई नेपाल राष्ट्र बैंककै पत्र चाहिन्छ । कम्पनीहरूले सेयर खुला गर्ने सम्बन्धमा राष्ट्र बैंकको पत्र लिएपछि मात्र नेप्सेले ती कम्पनीको सेयर कारोबार खुला गर्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थाबाहेक अरू क्षेत्रका (जलविद्युत्, बीमा, लगानी, उत्पादनमूलक आदि) सूचीकृत कम्पनीहरूबीचको मर्जर तथा एक्विजिसनको हकमा दोस्रो बजारमा सेयर रोक्का गर्नुपर्ने प्रावधान कतै छैन । यद्यपि नेप्सेले बैंक तथा वित्तीय संस्थाकै जस्तै गरी हाल मर्जरमा जाने बीमा कम्पनीहरूको सेयर कारोबार रोक्का गर्दै आएको छ । जबकि अन्य क्षेत्रका जस्तै मर्जरमा जाने बिमा कम्पनीहरूको सेयर कारोबार दोस्रो बजारमा रोक्नुपर्ने कुनै कानुनी व्यवस्था कहीं छैन ।

अब राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावलीको सेयर कारोबार रोक्का राख्नेसम्बन्धी व्यवस्था खारेज गरेपछि यो सम्बन्धमा कतै पनि कानुनी व्यवस्था रहनेछैन । यस्तो अवस्थामा मर्जरमा जाने सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गर्ने वा नगर्ने जिम्मा पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको कार्यक्षेत्रभित्र आएको छ । मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल भएकै कारण लामो समयसम्म दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएकाले लगानीकर्ता सेयर किनबेचबाट वञ्चित हुँदै आएका छन् ।

वर्षौंसम्म लगानीकर्ता सेयर किनबेचबाट वञ्चित भएको भन्दै उक्त व्यवस्था परिमार्जन गर्न सेयर लगानीकर्ताका संघसंस्थाहरूले राष्ट्र बैंकसमक्ष आग्रह गर्दै आएका थिए । उनीहरूकै आग्रहमा राष्ट्र बैंकले सेयर रोक्कासम्बन्धी विद्यमान व्यवस्था खारेज गर्ने घोषणा गरेको हो ।

हाल धितोपत्र बोर्ड र नेप्सेसँग सम्बद्ध कुनै पनि ऐन, नियम तथा कानुनमा मर्जरमा गएका कम्पनीहरूको सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था छैन । राष्ट्र बैंकले उक्त व्यवस्था खारेज गरेपछि पुँजीबजारको नियामक निकायले कानुनी व्यवस्था गर्नुपर्ने बोर्डले जनाएको छ।

‘हाल नेप्सेले बैंक तथा वित्तीय संस्थाको हकमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावलीको व्यवस्थाबमोजिम र बीमा कम्पनीहरूको हकमा कानुनबिनै रोक्का राख्दै आएको छ,’ स्रोतले भन्योे, ‘मर्जरका नाममा लामो समय सेयर कारोबार रोक्का हुनु राम्रो होइन ।’

मर्जरमा जाने कम्पनीको हकमा २/४ दिन सेयर कारोबार रोक्का (सेयर मिलान गर्ने समय) गर्नुपरेपछि लामो समयसम्म रोक्का गर्नुको कुनै विशेष कारण नरहेको बोर्डले जनाएको छ।‘मर्जर प्रक्रिया पूरा वा अवरुद्ध नभएसम्म कारोबार रोक्का गर्नुपर्ने हालको व्यवस्थाको खासै औचित्य छैन,’ कमिटिका एक सदस्यले, ‘सेयर मिलान (रूपान्तरण) का लागि कति दिन चाहिन्छ त्यति रोक्ने बाँकी दिन खुला राख्न सकिन्छ ।’ मैद्रिक नीतिमा घोषित व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन जारी गर्नुपर्छ । सोहीअनुसार नै कार्यान्वयनका लागि निर्देशन जारी भए सम्भवतः साउन दोस्रो सातादेखि सेयर रोक्कासम्बन्धी व्यवस्था खारेज हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*