राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बेसेडरमा मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशी नियुक्त

काठमाण्डौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको ब्रान्ड एम्बेसेडर नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नका लागि बैंकले आफ्नो ब्रान्ड एम्बेसेडरमा मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई नियुक्ति गरिएको बताए ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ रहेको छ ।













