आईपीओ निष्कासन गर्न २ कम्पनीले पाए बोर्डबाट अनुमति

काठमाडौं । दुई वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएका छन् । आइपीओ निष्कासन गर्न अनुमति पाउनेमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न आज सेबोनबाट अनुमति पाएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न मंसिर २४ गते सेबोनमा निवेदन दिएको थियो । बोर्डले हिजो सोमबार अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।













